काठमाडौं । पछिल्लो समय नेपालमा सिमेन्ट उद्योग खुल्ने क्रम तीव्र छ । धेरै उद्योगहरु भएकै कारण बजारको मागभन्दा डेढ कराेड टन सिमेन्ट बढी उत्पादन भइरहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्र थापाले जानकारी दिए ।
हाल सञ्चालनमा रहेका ६५ वटा उद्योगबाट मासिक २ करोड ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको र बजारमा भने करिब १ करोड टनको मात्र माग रहेको बताए ।
उत्पादित सबै सिमेन्टले पर्याप्त मात्रामा बजार नपाएकै कारण ती उद्योगहरु पूर्ण क्षमतासहित सञ्चालनमा आउन नसकेको बताउँदै उनले त्यसका लागि सरकारले बैकल्पिक बाटो खुलाउनुपर्ने बताए ।
नेपालले गुणस्तरयुक्त सिमेन्ट उत्पादन गरिरहेको बताउँदै छिमेकी मुलुकका बोर्डर क्षेत्रमा बजार विस्तारका लागि सरकारले आवश्यक पहल गरिदिनुपर्ने थापाको भनाइ छ ।
भारतीय बजारमा वार्षिक २ अर्बसम्मको सिमेन्ट निर्यात गर्न सकिने बताउँदै त्यसका लागि नेपाल र भारतका सिमेन्टको गुणस्तर समान बनाउन सरकारले पहल गर्नुपर्ने बताए । उनका अनुसार आन्तरिक बजारमै सिमेन्टको खपत कसरी बढाउन सकिन्छ भनेर संघले विभिन्न अध्ययनहरु गरिरहेको छ । संघले हाल निर्माण भइरहेका सडकहरुमा सिमेन्टको खपत बढाउन र वर्षौंसम्म टिकाउन सकिने उपायसँगसँगै बिटुमिन नभई कंक्रिट सडकमा जानुपर्ने अवधारणा अघि सारेको छ ।
नेपालमा सिमेन्ट कंक्रिटको प्रयोग गरी सडक बनाउन इन्जिनियरहरु त्यति अभ्यास नभइसकेकाले यस विषयमा एउटा सरल तथा चरणबद्ध पुस्तिकाको आवश्यकता महसुस गरी संघले गाइडलाइन तयार पारेको जनाएको छ ।
संघले इन्स्टिच्युट फर प्रोफेसनल ट्रेनिङ एन्ड म्यानेजमेन्ट (आइपीटीएम) नेपालको प्राविधिक सहयोगमा गाइडलाइन निर्माण गरेको हो ।
भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवलाई सो निर्देशिका बुझाउने र मन्त्रालयले बनाउने सडकमा कंक्रिटको प्रयोग गर्ने संघको तयारी छ ।
गाइडलाइनमा कंक्रिट सडक बनाउँदा हुने फाइदाहरु र कसरी प्रयोग गर्ने विषयहरु उल्लेख गरिएको छ । संघले संघीय मन्त्रालयहरुसहित स्थानीय तहलले निर्माण गर्ने सडकमा समेत कंक्रिट प्रयोग गर्न जोड दिएको छ । सोहीअनुसार प्रत्येक गाउँपालिका र नगरपालिकाहरुमा पनि सो गाइडलाइन पुर्याउने संघले जानकारी दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकालले सडकको गुणस्तर बढाउन कंक्रिटमा जानुपर्ने बताए । पटकपटक कालोपत्रे गरेर सडकमा खर्च बढाउनुभन्दा एकैपटक केही बढी खर्च गरेर कंक्रिट बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउँदै त्यसका लागि महासंघले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
आइपीटीएम नेपालका अध्यक्ष किशोर शाक्यले सडक निर्माणमा अहिलेको गाइडलाइन कोसेढुंगा सावित हुने बताउँदै कार्यान्वयनमा जोड दिए । ‘हाम्रा सडकहरु दीर्घकालीन र गुणस्तर बनाउनका लागि यो उपयोगी हुन्छ’, अध्यक्ष शाक्यले भने, ‘यसमा सबैले जोड दिनु आवश्यक छ ।’
इन्जिनियर डा. पदम शाहीले सुरुवाती चरणमा बिटुमिनभन्दा करिब २ गुणा महँगो पर्ने भए पनि कंक्रिटको प्रयोगबाट बन्ने सडक दीर्घकालीन र गुणस्तरीय हुने बताए । बिटुमिनजस्तो २÷४ वर्षमै नबिग्रने र यस्ता सकडमा इन्धन तथा तेल पनि कम खर्च हुने भएकाले वातावरणमैत्री हुने उनको भनाइ छ ।
बिटुमिनको भन्दा सिमेन्टको प्रयोगबाट बनेको सडकमा सवारी गुडाउँदा तेल पनि १४ प्रतिशत कम खर्च हुने उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठले सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्नका लागि निर्देशिका तयार पारेको जानकारी दिँदै कंक्रिट प्रयोग गरेर सडक निर्माणको काम सुरु गरिसकेको जानकारी दिए । पहिले नै सम्झौता भएका सडकहरु भने अहिले पनि कालोपत्रे भइरहेका र नयाँ बन्ने सडकमा भने कंक्रिट नै प्रयोग गर्ने जोडमा मन्त्रालय रहेको बताए ।
के हुन्छ फाइदा ?
सिमेन्ट कंक्रिटबाट निर्माण गरिएका सडक बढी टिकाउ हुने र मर्मत सम्भारमा पनि प्रायः केही गर्नुनपर्ने भएकाले यो निर्माण आर्थिक रुपमा अति नै प्रभावकारी हुन्छ । आर्थिक तथा रणनीतिक रुपमा सडक निर्माणमा बिटुमिन आयात गर्नु र सिमेन्ट स्वदेशी उत्पादनमा निर्भर हुने विषयको सार्वजनिक महत्व बुझ्नु दायित्व रहेको संघको भनाइ छ ।
सिमेन्ट कंक्रिटका सडक निर्माण गर्दा सुरुको चरणमा अलि बढ्ता लगानीको आवश्यकता पर्ने भए पनि यसको दीर्घकालीन आर्थिक तथा प्राविधिक रुपमा हुने फाइदा धेरै भएकाले सडक निर्माणमा नयाँ सोचको विकास गर्नु अति नै जरुरी रहेको संघको ठहर छ ।