काठमाडौं । पशुपतिनाथ हिन्दूहरूको आस्थाको केन्द्र हो । महाशिवरात्रि हिन्दू धर्मालम्बीहरूले विशेष महत्वका साथ मनाउने गर्छन् । साेही कारण दर्शनार्थीहरू पशुपतिमा दर्शन गर्न आज राति २ बजेदेखि नै लाइनमा छन् ।
हिन्दू धर्मवालम्बीको आस्थाको केन्द्र भएकाले नै छिमेकी भारतलगायतका विभिन्न देशबाट दर्शन गर्न यति बेला भक्तजनहरू काठमाडौं आएका छन् ।
यस्तै आजकाे दिन पशुपति परिसरमा व्यापार गर्नेहरूका लागि पनि महत्वपूर्ण दिन हो ।
जनकपुरका श्रवण महासेठ ३५ वर्षदेखि पशुपति परिसरमा व्यापार गर्दे आएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि ठप्प भएको व्यापार यो वर्ष हुनेमा उनी आशावादी छन् । भूकम्पपछि व्यापार लयमा फर्किन नसकेको उनी बताउँछन् ।
उनका अनुसार यसपटक पछिल्ला २ वर्षको भन्दा बढी व्यापार हुनेछ । भूकम्पअघि शिवरात्रिको दिन ४० हजार रुपैयाँ सम्मको व्यापार गरेका महासेठ त्यसपछि नभएको बताउँछन् । कोरोना महामारीका कारण २ वर्षदेखि शिवरात्रीको मेला हुन सकेन । तर, यसपटक १० देखि १५ हजार रुपैयाँसम्मको व्यापार हुने उनको अनुमान छ ।
यस्तै ३० वर्षदेखि पशुपति परिसर मै व्यापार गरिरहेका नवराज पाण्डे २ वर्षको तुलनामा यस वर्ष व्यापार बढ्ने भए पनि सामान महंगो भएका कारण नाफा न्यून नहुने बताउँछन् । अघिल्ला वर्षहरूमा माला १० रुपैयाँमा खरिद गरेर ल्याउने गरेका उनी यसपटक आफैंलाई ३० रुपैयाँ परेको बताउँछन् ।
शिवरात्रिमा सयौं प्रकारका वस्तुहरु बिक्री हुने भए पनि विशेष गरी फूल, नरिवल, बेल र बेलपत्ता बढी बिक्री हुन्छ । पूजाका लागि प्रयोग हुने सामग्री स्वदेशका साथै भारतबाट आयात गरिएकाले यी वस्तुको मूल्य यसपटक महंगो छ । जसकारण व्यापार गर्न समस्या भएको व्यापारीहरू बताउछन् ।बढी बिक्री हुने धतुरोको मूल्य ५० रुपैयाँ पुगेकाले बेच्न नसकिने भन्दै नल्याएको पाण्डे बताउँछन् ।
शिवरात्रिका बेला पाण्डे र महासेठजस्ता झण्डै ५ सय हराहारी व्यापारीहरू यसरी नै पशुपति क्षेत्र विकास कोषसँग अनुमति लिएर व्यापार गरिरहेका छन् । कतिले त अनुमति नलिएरै व्यापार गरिरहेका छन् ।
धार्मिक र सांस्कृतिक रूपमा मनाइने एउटा पर्वले समग्र जातजाति, धर्म र वर्गबीचकाे आर्थिक पाटाेलाई पनि सँगसँगै जाेडेकाे पाइन्छ ।कतिसम्म भने दर्शनार्थीहरूलाई टीका लगाइदिने पण्डितले पनि आज राम्रै कमाइ गर्छन् । यस्तै गाँजाकोसमेत ठूलो व्यापार हुने गरेको छ ।
व्यापारका लागि भनेर अहिले पशुपति आज सयौंको संख्यामा टहरा बनेका छन् । अझ यसपटकदेखि कोषले एक सातासम्म मेलाको आयोजना गर्न टहरा निमार्ण गरिरहेको छ । कोषले प्रतिस्टल ३० हजार रुपैयाँसम्म भाडा लिएर ३ सय स्टल राख्ने गरी मेला आयोजना गर्न लागेको छ ।
यो मेलाबाट कोषलाई थप १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुनेछ ।
हामीले वर्षौंदेखि मनाउँदै आएका यस्ता चाडपर्वको धार्मिक महत्व मात्रै छैन । मौसमअनुसारको खानपान र अर्थतन्त्रलाई चलायमान गराउने साधनहरू पनि छन् । यस्ता चाडपर्वमा हुने व्यापारले निम्न वर्गलाई घर चलाउन निकै सहज हुने गरेको छ । शिवरात्रिका दिन पशुपतिमा मात्रै होइन देशभरका हजारौं शिवालयमा भक्तजनहरुको घुइँचो लाग्छ । जसले देशभरकै अर्थतन्त्र चलायमान हुन्छ । उपत्यकाका पशुपति र भक्तपुरको डोलेश्वरमा ठूलो मेला लाग्छ ।
हिन्दू धर्मवालम्बीहरूको आस्थाको केन्द्र भएकाले पशुपतिनाथमा दर्शन गर्न छिमेकी देश भारतबाटसमेत हजारौं भक्तजनहरू आउने गरेका छन् । जसले गर्दा शिवरात्रिमा ३ लाख पर्यटक भित्रिने अनुमान गरेको कोषका कार्यकारी निर्देशक धनश्याम खतिवडा बताए ।
यसपटक डेढ करोड रुपैयाँसम्म आम्दान्नी हुने कोषको अनुमान छ ।
व्यवस्थापनमा एक करोड रुपैयाँ खर्च हुने र ५० लाख रुपैयाँ कोषले नाफा गर्ने खतिवडाले जानकारी दिए । शिवरात्रिको आम्दानी र खर्चको हिसाब पहिलेदेखि नै राख्ने प्रचलन रहेको छ ।
तर, शिवरात्रिमा हुने व्यापारप्रति भने ध्यान नपुगेको उनले बताए । खतिवडाले भने ‘यो विषय त हामीले सोचेकै थिएनौं । यसपटक तपाईंले भन्नुभयो अब अध्ययन गछौं ।’
शिवरात्रिमा देश विदेशबाट आउने लाखौं भक्तजनहरूबाट करोडौंको कारोबार हुने गरेको अनुमान गरिन्छ । तर, कोषसँग यसको यकिन तथ्यांक छैन ।
शिवरात्रिका बेला मन्दिरमा चढाउने फलफूल, नारिवल, जौ, तिल, प्रसादजस्ता वस्तुको मात्रै हाेइन भारतबाट आएका लाखौं भक्तालुहरुले पशुपतिको चिनोको रूपमा अन्य तामा तथा पित्तलबाट बनेका भाँडाकुडा, मूर्ति, बालासमेत लिने गरेका छन् । जसले गर्दा विदेशी मुद्रासमेत आर्जन हुने गरेको छ ।
नेपालमा गाँजालाई कानुनले वर्जित गरेको छ । आजकाे दिन शिवजीको प्रसाद भन्दै लुकिछिपी गाँजाको व्यापार पनि हुने गरेको छ । भारतीय नागा बाबाले ल्याएको गाँजा पशुपति आसपासका क्षेत्रमा आज खुलेआम बिक्रीवितरण हुन्छ । चुरोटमा गाँजा भरेर तथा अन्य मिठाइजन्य वस्तुमा भाङ मिसाएर बिक्रीवितरण हुने गरेको पाइन्छ ।
मेला आयोजक कोषले प्रतिबन्धित गाँजा बेचबिखन गर्न तथा सेवन गर्न बन्देज गरे पनि यस दिन लाखौं रुपैयाँको गाँजा व्यापार हुने अनुमान कोषको छ ।