काठमाडौं । रेल चलाउन आवश्यक कानुन र आन्तरिक तयारी पूरा नपुग्दा जयनगर–कुर्था रेल सञ्चालनमा ढिलाइ हुँदै गएको छ । यसअघि पटकपटक रेल सञ्चालनको मिति घोषणा गरे पनि आन्तरिक तयारी र कानुन नबन्दा रेल सञ्चालनमा ढिलाइ भएको रेल विभागले जनाएको छ ।
रेल ल्याएर मात्रै नहुने भएकाले त्यसका लागि आवश्यक आन्तरिक संरचना, कानुन र कर्मचारी व्यवस्थापन भइनसकेकाले केही ढिलाइ भइरहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
रेल ट्र्याक तयार भएकाले रेल आउनेबित्तिकै रेल सञ्चालन गर्न आवश्यक कानुन पास हुनुपर्ने मिश्रको भनाइ छ । रेल सञ्चालनसम्बन्धी कानुन पेस भइसकेको र स्वीकृति हुनासाथ रेल सञ्चालनको बाटो खुल्ने उनले बताए । त्यस्तै, जयनगर–कुर्था खण्डमा डेढ सय मिटर रेलमार्गको ट्र्याकमा क्षति पुगेको छ । सो क्षतिभएको रेलमार्गको ट्र्याक बेल्ट बनाउनुपर्ने मिश्रको भनाइ छ ।
अर्को महत्वपूर्ण पक्ष भने रेलवे कम्पनी भर्नासम्बन्धी कर्मचारी विनियमावली अहिलेसम्म पनि स्वीकृत हुन सकेको छैन । रेल सञ्चालनका लागि २०० कर्मचारी भर्ना गर्नुपर्ने विभागले जनाएको छ । त्यसका लागि पनि प्रस्तावित विनियमावली स्वीकृत भएर आउनुपर्छ ।
अहिले उक्त प्रस्ताव संसद्मा पठाइसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केलगत्तै रेलवेसम्बन्धी कानुन र कर्मचारी विनियमावली स्वीकृत हुने मिश्रको भनाइ छ ।
यसअघि गत असार मसान्तभित्र रेल खरिद गरी सञ्चालन गर्ने भने पनि भारतीय निर्वाचनले लम्बिएको थियो । विभागले गत वर्षदेखि ३/४ पटक रेल सञ्चालन हुने मिति तोके पनि रेल सञ्चालन हुन सकेको छैन ।
नयाँ मिति ३ महिना
विभागले अबको ३ महिना अर्थात् डिसेम्बरभित्र जसरी पनि रेल सञ्चालन गर्ने दाबी गरेको छ । यसअघि पटकपटक रेल सञ्चालन गर्ने मिति तोक्दै आएको विभागले अब कानुन पास भएपछि रेल खरिद हुने र सञ्चालन गरिहाल्ने मिश्रको भनाइ छ । ‘हामी पनि रेल छिट्टै चलाउनेमा छौं । केही कानुन र आन्तरिक तयारी पूरा हुन बाँकी छ । भारतीय कम्पनीले खरिद गर्ने रेलमा रङरोगनका काम गरिरहेको बताएको छ,’ उनले भने, ‘अबको साढे २ वा ३ महिनाभित्र त जसरी पनि रेल चल्छ ।’
६९ किलोमिटरको जनकपुर–बर्दिवास रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्मको ३४ किमि यसअघि नै निर्माण भइसकेको छ । रेल सञ्चालनका लागि नेपालले भारतीय रेलवे सेवा कम्पनीसँग सम्झौता गरी सञ्चालन गर्नेछ । झन्डै १ अर्ब रुपैयाँ लागतमा नेपालले आफ्नै स्वामित्वको रेल खरिद गर्ने योजना थियो । दुई सेट डिब्बा डेमो ट्रेन र इन्जिन खरिद हुन हुनेछ । यो रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुनेछ ।
यसअघि नै जयनगर–कुर्था रेल सञ्चालनका लागि आवश्यक पूर्वाधारका काम सकिएका छन् । रेल स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्र्याकबेल्ट तथा स्ट्रक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् ।