काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन माग गरेका छ । अध्यक्ष कृष्णप्रसाद आचार्यको नेतृत्वमा गएको इप्पानको टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटी पीपीए खुलाउन माग गरेको हो ।
इप्पानले ९ हजार मेगावाटभन्दा बढी क्षमताका २१५ वटा आयोजनाहरुले सबै प्रक्रिया र मापदण्ड पुरा गरेर पीपीएका लागि आवेदन दिएको जानकारी गराएको छ । यी आयोजनाहरुको पीपीए नहुँदा तीन वर्षदेखि सर्वेक्षण अनुमतिपत्रको वार्षिक नविकरण दस्तुर तिर्नु परिरहेको भनाइ इप्पानकोे छ ।
यस्तै उत्पादन अनुमतिपत्र लिएकाहरुले वार्षिक आय गुमाउनुका साथै यसबाट ठूलो आर्थिक भार परेको जिकिर इप्पानको छ । पीपीए नहुँदा समग्र आयोजनाहरुको लागत उच्च हुने र अर्कोतिर निर्धारित समयमा आयोजना सम्पन्न हुन नसक्दा सरकारले लिएको १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा समेत गम्भीर प्रभाव पर्ने चेतावनी इप्पानले दिएको छ ।
प्राधिकरणले हिउँदमा अर्बौ रुपैयाँको विद्युत आयात गरिरहेको तथ्यलाई वेवास्ता गरेर वर्षा याममा थोरै विद्युत खेर गयो भन्ने बहानामा पीपीए बन्द गरेको आरोप इप्पानको छ र जबकि अहिले पीपीए गरिएका आयोजनाहरुबाट कम्तीमा ५ वर्षपछिबाट मात्र विद्युत उत्पादन गर्न सकिने यथार्थलाई प्राधिकरणले भुल्न खोजेको तर्क इप्पानको छ ।
इप्पानका अनुसार अहिलेसम्म निजी क्षेत्रले ऊर्जा उत्पादनका आयोजनाहरुको पहिचान, अध्ययन, विकासका लागि करिब १० खर्ब रुपैयाँ लगानी गरिसकेको छ । यस्तै आगामी ७ वर्षमा थप १७ खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने छ ।
तर, प्राधिकरणको नीतिले निजी क्षेत्रका प्रबद्र्धकहरु निराश र अन्यौलमा पर्न थालेको आरोप इप्पानले लगाएको छ । ‘मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रुपमा पहिचान गरिएको ऊर्जा क्षेत्रमा देशी–विदेशी लगानीकर्ताहरु आकर्षित हुँदै गरेको अवस्थामा विद्युत खरिद–बिक्री सम्झौतालाई ठप्प पारेर प्राधिकरणले यस क्षेत्रका निजी लगानीकर्ताहरुलाई निरुत्साहित गरेको मात्र छैन, समग्र ऊर्जा क्षेत्रको विकासमा नै गम्भीर बाधा उत्पन्न गरेको छ’इप्पानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
अन्योलतालाई हटाउन र उद्यमीहरुमा परेको आर्थिक भारलाई हेरेर तत्काल पीपीए खुला गर्न इप्पानले माग गरेको छ । इप्पानका अध्यक्ष आचार्यको नेतृत्वमा उपाध्यक्ष मोहनकुमार डाँगी, कार्यसमितिका सदस्यहरु प्रकाशचन्द दुलाल,उत्तमब्लोन लामा, कविता पोखरेल, सल्लाहाकार समितिको संयोजक कुमार पाण्डेलगायत ऊर्जा उद्यमीहरु प्राधिकरण पुगेका थिए