काठमाडौं । दिन-प्रतिदिन खस्कँदै गरेको अर्थतन्त्र र बढ्दो ब्याजदरले सेयर बजार सम्हालिन गाह्रो पर्ने देखिएको छ । क्षणिक वृद्धिमा विभिन्न कारणहरू देखाइए पनि ब्याजदरको स्थिरता र सकारात्मक आर्थिक सूचक तयार नहुँदासम्म सेयर बजार उठ्ने सम्भावना कम छ ।
केही दिनदेखि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई देखाएर जलविद्युत् क्षेत्रका कम्पनीहरूको मूल्य केही हदसम्म बढाउन कोसिस गरिए पनि त्यो टिकाउपूर्ण भएन ।
कतिपय लगानीकर्ताले त्यही मौकालाई उपयोग गरेर सामान्य नाफा लिएका पनि हुन् । तर, आइतबार एमसीसी पास भएको असर सोमबार बजारमा सकारात्मक प्रभाव देखिने अपेक्षा विपरीत जलविद्युत कम्पनीहरूमै उच्च गिरावट देखिएको छ ।
सोमबार उच्च मूल्य घट्ने २० कम्पनीमध्ये १७ वटा जलविद्युत क्षेत्रसँग सम्बन्धित छन् । २ कम्पनीको (तेह्रथुम र साम्लिङ पावर) सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । ऋणपत्र र म्युचुअल फन्डबाहेक सोमबार १८३ कम्पनीको सेयर मूल्य ओरोलो लागेको छ ।
सबैभन्दा धेरै ३ प्रतिशतभन्दा बढीले जलविद्युत् समूहको सेयर मूल्य ओरालो लागेको छ । जलविद्युतकै रफ्तारमा मूल्य घट्न पच्छ्याइरहेका वित्त, निर्जीवन र जीवन बिमा, व्यापार समूहको सूचक पनि २ प्रतिशतभन्दा बढीले घटेको छ । समग्रममा आइतबारको तुलनामा ४३.१ प्रतिशतले घटेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६१०.६ अंकमा आइपुगेको छ । आइतबार २६५३.७ बिन्दुमा रहेको सूचक सोमबार कारोबार खुल्नेबित्तिकै ७ औं मिनेटमा २६८३ सम्म चढेको बजार त्यसपछि भने निरन्तर घट्न थाल्यो ।
बीच-बीचमा सामान्य वृद्धिको संकेत देखाए पनि त्यो टिकाउपूर्ण भएन र कारोबार अन्तिम समयमा २६०६ सम्म झर्न पुगेकामा अन्तिम बिन्दुमा ४ अंक सम्हालिएको देखिन्छ । यसले बुधबार पनि बजार साइडवेजमै जाने संकेत गरेको छ । मुलुकको अर्थतन्त्र गिजोलिँदो छ । अन्तर्राष्ट्रिय परिवेश पनि त्यही रूपले रुमलिएको छ । रुस-युक्रेन युद्धले सुन र पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा चाप पर्ने देखिन्छ भने अमेरिकी डलरको सटही दरमा पनि अधिक मूल्यांकन हुने सम्भवना छ । यसले नेपालजस्ता आयातमा निर्भर मुलुकका लागि ठूलो धक्का लाग्ने बाटाहरू कोरिएका छन् ।
विदेशी मुद्रा सञ्चितिमा दबाब पर्नेबित्तिकै त्यसले नेपाली अर्थतन्त्रलाई थप जोखिमयुक्त बनाउने सम्भावना छ । अर्कोतिर आयात निरुत्साहित गर्ने नीति र तरलता अभाव मत्थर पार्न ब्याजदर बढाउने नीतिले लगानीको मूल्य बढाइरहेको छ । त्यसको असर सेयर बजारमा पनि पर्ने निश्चित छ । खास गरी, केन्द्रीय बैंकले अनौपचारिक रूपमा आयात, घरजग्गा र सेयर बजारमा जाने लगानीका लागि ऋण नियन्त्रण नीति लिएको छ । र यी क्षेत्रमा ब्याज जतिसुकै बढे पनि चासो नदिने केन्द्रीय बैंकको नीति छ ।
त्यसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने भएकाले अबका केही समय बजार उठ्न निकै कठिन छ । सामान्य अंकले उचारचढाव देखिए पनि दीर्घकालीन स्थिरता पाउन सेयर बजारमा कठिन छ । लगानीकर्ताले सतर्कता र सूचीकृत कम्पनीका ययार्थ विवरणहरू केलाएर र इन्भेस्टरका रूपमा बजार प्रवेश गर्दा बढी सहज हुने अवस्था छ । अहिलेको केन्द्रीय बैंकको रणनीतिक चालले सेयर कारोबारी (ट्रेडर)लाई गाह्रो बनाउने छ ।
बजार घटे पनि कारोबार रकम भने सामान्य रूपमा बढेको छ । आइतबार ३ अर्ब २४ करोडको सेयर किनबेच भएकोमा सोमबार ३ अर्ब ६६ करोडको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि ऋणपत्र र म्युचुअल फन्डबाहेक ७ कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी तारागाउँ रिजेन्सीको १.११ प्रतिशतले बढेको छ ।
उता कारोबार रकममा जलविद्युत समूहको वर्चश्व देखिन्छ । सबैभन्दा बढी अपि पावरको १६ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने उच्च १० कारोबारमा जलविद्युत समूहकै कम्पनी छन् ।