काठमाडौं । नेपाल वायुसेवा निगमकाे जहाज-३२० को इन्जिन कतारको दोहामा ग्राउन्डेड भएकाे ६६ दिनपछि फेरिने भएको छ ।
गत पुस १३ गते जहाज अवतरणपछि पार्किङको क्रममा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको थियो । केही समयअघि मात्र नेदरल्यान्डको एमटीयू मेन्टिनेन्स लेन्स सर्भिससँग इन्जिन भाडामा लिने सम्झौता गरेसँगै फागुन १९ (३ मार्च) मा बिहान साढे १० बजे दोहामा पुर्याउने तयारी गरेको हो ।
निगमको इन्जिनियर विभागले दिएको जानकारीअनुसार सो कम्पनीले ३ मार्चमा नयाँ इन्जिन दोहामा पुर्याउने र सोही दिनबाट फेर्न सुरु गर्नेछ । यसका लागि २ देखि ३ दिन लाग्ने र त्यसलगत्तै काठमाडौं ल्याएर व्यावसायिक उडान सुरु गर्ने निगमको तयारी छ ।
निगमले एमटीयू मेन्टिनेन्स लेन्स सर्भिससँग निगमले इन्जिन भाडामा लिएबापत दैनिक २ हजार डलर तिर्नुपर्छ । त्योसँगै प्रतिघण्टा (जहाज उडेका बेला) करिब २ सय डलर र साइकल (ल्यान्डिङ) को पनि करिब २ सय डलर नै तिर्नुपर्छ ।
३ महिनाका लागि सम्झौता गरेको सो कम्पनीसँग निगमले इन्जिन भाडामा लिएबापत पहिलो महिना करिब ६० हजार डलर तिर्नुपर्छ । त्यसपछि भने जति धेरै उडायो त्यति नै बढी रकम तिर्नुपर्ने हुन्छ ।
इन्जिन भाडामा लिनका लागि पहिलो र दोस्रो पक्षलाई पन्छाउँदै तेस्रोलाई पार्टीलाई दिएको भन्दै निगम व्यवस्थापनको विरोध हुँदै आएको छ । व्यवस्थापनले भने छनौट भएको पहिलो र दोस्रो कम्पनीले तत्कालै इन्जिन दिन नस्कने भन्दै पत्रचार गरेको तर निगमलाई तत्कालै इन्जिन चाहिएकोले तेस्रो पक्षलाई दिएको बताउँदै आएको छ ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यापिटलसँग कुरा गर्दै छनौट भएको पहिलो कम्पनी एभीवनले सुरुको दायित्वभन्दा अतिरिक्त शुल्क थपेर पठाएपछि ब्याक भएको, दोस्रो पार्टी मोइलीसाईले २४ फेबु्रअरी (फागुन) १२ गतेसम्म मात्र इन्जिन उपलब्ध गराउने भनेपछि एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसलाई जिम्मा दिइएको बताए ।
दोस्रो र तेस्रो पार्टीबीच महिनाको ९० डलर मात्र तलमाथि भएकाले उसैलाई जिम्मा दिएको उनको भनाइ छ ।
यद्यपि, निगमले कतिमा सम्झौता गरेको र कहिलेसम्मका लागि भनेर आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन ।
इन्जिन फेर्ने टुंगो नलगाउँदा निगमलाई आर्थिक चलखेल गरेको आरोप पनि लाग्दै आएको छ । लामो समयदेखि जहाज ग्राउन्डेड हुँदा निगमलाई दैनिक २ करोडभन्दा बढी घाटा हुँदै आएको छ ।