एजेन्सी । युक्रेनमाथि आक्रमण गरेसँगै युरोपेली मुलुक, जापान र अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धका कारण रूसको मुद्रा (रुबल) मा ३० प्रतिशतले अवमूल्यन भएको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी डलरको तुलनामा रूसको मुद्रा ३० प्रतिशतले अवमूल्यन भएको हो ।
रूसी मुद्राको अवमूल्यन भएसँगै अमेरिकी डलरको सटही रूसमा बढेको बताइएको छ । रूसको इतिहास नै यस्तो गिरावट पहिलो पटक भएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।
बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायतका मुलुकहरुले आर्थिक प्रतिबन्धको घोषणा गरेका छन् । यद्यपि, रूसका राष्ट्रपति भ्यालदिमिर पुटिनले सन् २०१४ देखि नै रुबलको अधिमूल्यन गर्दै आएको बताइएको छ ।
रूस युरोपकै सबैभन्दा ठूलो पेट्रोलियम पदार्थको निर्यातक हो । युरोपले लगाएको आर्थिक प्रतिबन्धको असर ती देशहरुमा समेत पर्न सक्ने बताइएको छ । युरोपको कुल खपतको ४० प्रतिशतभन्दा पेट्रोलियम पदार्थ रूसले युरोपलाई पाइप लाइनमार्फत आपूर्ति गर्दै आएको छ ।
रूसको सिमानामा रहेको युक्रेनलाई रूसले नेटोमा नजानका लागि दबाब दिँदै आएको थियो । रूसका राष्ट्रपति पुटिन कुनै पनि हालतमा नेटो उपस्थिति युक्रेनमा देख्न चाहँदैनन् । युक्रेनमा नेटो आउँदा आफ्नो पराजय हुने भन्दै पुटिनले यसलाई प्रतिष्ठाको विषय बनाउँदा युक्रेनमाथि रूसले आक्रमण गरेको हो ।
नेटोमा सहभागिता नजाउन युक्रेनलाई रूसले चेतावनी दिँदै आएको थियो । तर, युक्रेनले उक्त सर्त नमानेपछि रूसले युक्रेनमाथि हवाई आक्रमण सुरु गरेको हो । युक्रेनको राजधानी किभलगायतका ५ सहरमा रूसले हवाई आक्रमण गरिरहेको छ । पश्चिमा मुलुकहरुले युक्रेनलाई विभिन्न हातहतियार लगायतका सहयोग गरेका छन् ।
रूसको स्थल सेना तथा ट्यांकहरुलाई युक्रेन सेना तथा नागरिक मिलेर गुरिला आक्रमणमार्फत निस्तेज गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई युक्रेन छोड्न रूसले चेतावनी दिए पनि उनी युक्रेनमा लुकेर बसेको बताइएको छ ।
उनले युक्रेनका जनतालाई मिलेर रूस आक्रमणको प्रतिरक्षा गर्नका लागि आग्रह गरिरहेको देखिन्छन् । उनले विभिन्न भिडियो सन्देशमार्फत युक्रेनका जनताको हौसला बढाइरहेको देखिन्छ ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा रूस आक्रमण रोक्नुपर्ने मतदानमा १४ राष्ट्र पक्षमा मतदान गरे पनि रूसले भिटो प्रयोग गरी त्यसलाई विफल बनाइदिएको छ । भारत र चीनलगायतका मुलुलले सुरक्षा परिषद्मा मतदानमा भाग लिएनन् । अमेरिका, बेलायत, फ्रान्स लगायतका मुलुकहरुले रूसको विरुद्धमा मतदान गरेका थिए ।