रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रूपमा आफ्नो गन्तव्यमा पुगेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ ले नेपाली सुरक्षित रूपमा गन्तव्यमा पुगेको जनाएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्यान्डमा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हंगेरीमा ४ र माल्डावामा २ जना सकुशल पुगेका जनाएको छ ।
सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्यान्काे सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा २ नेपालीहरू दोस्रो मुलुक जान रोकिएका छन् । उनीहरूले आज साँझसम्म सीमा पार गर्नसक्ने अनुमान गरिएको छ ।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।
बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए ।
उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले संघका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्यान्ड सीमा क्षेत्रमा आफैं परिचालित भएको जानकारी दिए ।