काठमाडौं । नेपाल राष्ट्र बैंकले लगानी गर्न बैंकहरूलाई कडाइ गरेसँगै त्यसको प्रभाव घरजग्गा व्यवसायमा परेको छ । केही वर्षयता जग्गाको मूल्य बढिरहेको बेला राष्ट्र बैंकले गरेको कडाइले व्यवसायमा ‘ब्रेक’ लाग्ने र मूल्य घट्ने धेरैको आकलन छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ‘प्लटिङसम्बन्धी रियल स्टेट कर्जा’ को जोखिम भारमा पुनरावलोकन गर्न भनेको छ । अहिले पनि जग्गाका लागि सोधपुछ र हेर्न आउनेको संख्यामा कुनै कमी नआएको व्यवसायीहरूको भनाइ छ ।
हुन त बैंकमा तरलता अभावका कारण केही महिनादेखिनै घरजग्गा कारोबार सुस्ताएको छ । बैंकले लगानी गर्न छोडे पनि जग्गा कारोबारका लागि सोधपुछ गर्ने क्रम भने नरोकिएको अरनिको हाउजिङ एन्ड डेभलपमेन्ट प्रालिका सञ्चालक साहिंला तामाङले बताए ।
लामो समयदेखि जग्गा प्लटिङ व्यवसाय गर्दै आएका तामाङले बैंकको नीतिले केही प्रभाव भने परेको जानकारी दिए । ‘बैंकबाट ऋण लिएर जग्गा खरिद गर्नेहरू धेरै रहेकोले व्यवसाय केही प्रभावित भएको छ, यसमा हामीले पास गर्ने समय केही पर सारेर समन्वय गरिदिएका छौं ।’
पछिल्लो समय रोजगारीमा विदेश गएका परिवारहरूले घरजग्गाको बढी कारोबार गरेका थिए । केही रकम विदेशबाट पठाउने र बाँकी बैंकबाट ऋण लिएर जग्गा खरिद गर्ने प्रचलन बढेको थियो ।
तर, राष्ट्र बैंकको नयाँ नीतिले त्यस्ता व्यक्तिहरू प्रभावित भएका छन् । अहिले पनि घर जग्गा खरिद गर्नेहरूको संख्यामा भने कम नआएको अर्का व्यवसायी तारा खड्काको भनाइ छ ।
‘बैंकमा सधैं पैसाको अभाव हुन्छ भन्ने हुँदैन, व्यवसायी खड्काले भने, तरलता सहज हुने बित्तिकै लगानी विस्तार हुने भएकाले अहिलेनै आत्तिने अवस्थामा छैनैं ।’ लामो समयदेखि इमाडोल क्षेत्रमा घर जग्गाको कारोबार गर्दै आएका खड्काले अहिले हेर्ने, बैंना गर्ने र जग्गा पास भने पछि गर्ने गरी समन्वय भइरहेको बताए । अहिले कतिपयले भने बैंकहरूले ऋण नदिएपछि बढी ब्याज तिरेर भए पनि सहकारीबाट कर्जा लिन थालेको उनी बताउँछन् ।
सहकारीले पनि ब्याजदर १३ प्रतिशतबाट बढाएर १६ प्रतिशत ब्याजदर पुर्याएका छन् । बैंकमा भएको तरलता अभावको मौका छोपेर सहकारीहरूले चर्को ब्याज लिन थालेको व्यवसायीहरूको भनाइ छ ।
केही समयका लागि सहकारीबाट ऋण लिने र बैंकमा सहज भएपछि फिर्ता गर्ने सोचका साथ त्यतातिर लागेको घरजग्गा व्यवसायी रामशरण खड्काको भनाइ छ ।
जग्गामा लगानीका लागि कडाइ गर्दा वास्तविक व्यवसायीहरूभन्दा बिचौलियाहरूलाई धेरै समस्या भएको छ । बैंक मिलाउनेसम्मका ग्यारेन्टी लिएर बिचौलियाहरूले जग्गा मिलाइदिने गरेको बताउँदै अहिले त्यो ठप्प भएको खड्का बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा किन्दा सहज रुपमा कर्जा दिन थालेसँगै पछिल्लो ५ वर्षमा काठमाडौं उपत्यकासहित मुलुकभर घरजग्गाको मूल्य ह्वात्तै (५ गुणाभन्दा बढी) बढेको थियो ।
०७६/०७७ सम्म २२ अर्ब ४ करोड ६९ लाख रुपैयाँ जग्गा खरिद र प्लटिङमा ऋण गएको थियो । गत आव ०७७/०७८ सम्म २५ अर्ब ४६ करोड २९ लाख रुपैयाँ घरजग्गामा ऋण लगानी भएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा जग्गा खरिद र प्लटिङमा गएको ऋणको हिस्सा ह्वात्तै बढेको छ । गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा ३९.२ प्रतिशतले बढेर घरजग्गामा लगानी ३५ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।