काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए) ले ढिलोमा डेढ वर्षभित्र प्रस्तावित प्रसारण लाइन र सडकको काम सुरु गर्ने भएको छ । एमसीएले एकदेखि डेढ वर्षभित्र निर्माण पूर्वका सबै तयारीका साथै विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गरेर प्रस्तावित प्रसारण लाइन र रणनीतिक सडक निर्माणको काम सुरु गर्ने भएको हो ।
जग्गा प्राप्ति, वन र वातावरणको काम एक वर्षभित्र सक्ने एमसीएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खड्गबहादुर विष्टले बताए । उनले निर्माणमा जानका लागि मिति तोक्ने तयारी भएको सुनाए । यस्तै सडक तथा प्रसारण लाइन निर्माणका लागि ग्लोबल टेण्डरसमेत गर्दा ढिलोमा डेढ वर्षसम्म लाग्ने उनको भनाई छ ।
‘नेपाल विद्युत प्राधिकरणले जग्गा प्राप्ति, वन तथा वातावरण र टेण्डर गर्दा लामो समय लाग्ने गरेको छ । सकेसम्म छिट्टै काम सुरु गर्ने योजना रहेको छ’ उनले भने ।
अनुमान गरेको बजेट ५ वर्षअघिको भएकाले लागतको पनि पुनरावलोकन गर्ने उनले जानकारी दिए । फिडिक मोडलमा जाने भएको छ । फिडिकका अनुसार ठेक्का गर्न लामो समय लाग्ने उनले सुनाए । काम सुरु गरेको ५ वर्षभित्र आयोजनाको काम सक्नुपर्ने वाध्यकारी व्यवस्था छ ।
प्रतिनिधिसभाको बैठकले एमसीसी कम्प्याक्टलाई पारित गरेकाले परियोजनाको काम अघि बढाउन बाटो खुलेको उनको भनाई छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकले लामो छलफलपछि एमसीसी कम्प्याक्ट पारित गरेको हो । अमेरिकाको ५० करोड डलर (करिव ५५ अर्ब) र नेपाल सरकारको १३ करोड डलर (करिव १५ अर्ब) रुपैयाँ परियोजनामा लगानी हुने छ ।
एमसीसी संसदबाट पारित भएकाले ४०० केभी क्षमताको ३१५ किलोमिटर लामो विद्युतं प्रसारण लाइन र ७७ किमि लामो रणनीतिक सडक निर्माणका लागि अमेरिकाबाट करिब ५५ अर्ब रुपैयाँ (५० करोड डलर) अनुदान सहयोग आउने छ ।
एमसीसीको अनुदानबाट बनाउने ठूलो प्रसारण लाइनले ७ हजार मेगावाट क्षमताका प्रस्तावित जलविद्युत आयोजनालाई आर्थिक रुपमा संभाव्य बनाउने छ ।
यस्तै बैंक तथा जलविद्युत विकासकर्ताले गरेको करिब ७ खर्ब रुपैयाँ लगानी सुरक्षित हुनेछ । एमसीसी अनुदान आएपछि नेपालको ऊर्जा क्षेत्रमा थप लगानी विस्तार हुन गई केही वर्षभित्र जलविद्युत उत्पादनमा ठूलो फड्को मार्नेछ । नेपालमा विद्युतको माग र आपूर्तिबीच ठूलो खाडल छ । विद्युत उत्पादन वृद्धि भइरहेको अवस्था छ ।
एमसीसीले उपलब्ध गराउने ५५ अर्ब रुपैयाँमध्ये ४० अर्ब रुपैयाँ अनुदान सहायताले बन्ने ४०० केभी क्षमताको लप्सीफेदी, रातमाटा, दमौलीमा तीनवटा सब–स्टेसन निर्माण हुनेछ । नुवाकोटको रातमाटामा निर्माण हुने सब–स्टेसनमा प्रस्तावित रसुवागढी–केरुङ ४०० केभी क्षमताको प्रसारण लाइन पनि जोडिनेछ ।
प्राधिकरणले निर्माण गर्ने बुटवल–गोरखपुर ४०० केभी को नेपाल–भारत सीमासम्मको २२ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन पनि यसैमा जोडिन्छ । एमसीसी लागू भएपछि बुटबल गोरखपुर सीमापार प्रसारण लाइन निर्माण हुन लागेको छ ।
आयोजनाको प्रसारण लाइन डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन (केही क्वाड–सर्किट टावरहरूसहित) डिजाइन गर्न तथा निर्माण गर्नमा केन्द्रित हुनेछ । यसले नेपालका विभिन्न नदी क्षेत्र तथा विद्यमान उच्च क्षमतायुक्त ग्रिडबीच भइरहेको जोडाइको अभावलाई सम्बोधन गर्नेछ ।
प्रसारण आयोजनाअन्तर्गत तीनवटा नयाँ ४०० केभी क्षमताको इन्डोर ग्यास इन्सुलेटेड सब–स्टेसन (जीआईएसी) निर्माण गरिनेछ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेसन, तनहुँमा नयाँ दमौली सब–स्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सब–स्टेसन निर्माण गरिनेछ ।
निर्माणाधीन प्रसारण लाइन काठमाडौंको लप्सीफेदी र मकवानपुरको नयाँ हेटौंडास्थित प्राधिकरणका विद्यमान सब–स्टेसनहरूमा पनि जोडिने भएको छ ।