काठमाडौं । चितवन भरतपुर नगरपालिका–२३ का २२ वर्षीय सुजन विक वैदेशिक रोजगारीका लागि मलेसिया थिए । उनले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारले ऋण दिने व्यवस्था गरेको सुनेकाले ऋण लिन्छु र स्वदेशमै कृषि व्यवसाय गर्छु भनी फर्किए ।
भरतपुर नगरपालिकाको गीतानगरस्थित नेपाल बैङ्कको शाखामा १२ लाख ऋणका लागि सुजनले योजना पेस पनि गरे । तर नेपाल बैङ्कले अरुले यस्तै शीर्षकमा ऋण लिएर नतिरेको उदाहरण दिँदै कर्जा नदिएको सुजनका बाबु पर्मलाल विकले बताए । गाउँबाट ऋण खोजेर जेनतेन फार्म दर्ता गरे । आफ्नै पौरखले सानातिना गरी ११ वटा गाइबस्तु जोडे । नेपाल बैङ्क मात्रै होइन, पर्मलालले ऋणका लागि छोरालाई राष्ट्रिय वाणिज्य बैङ्क र जनता बैङ्कमा पनि लिएर गए । सबै बैङ्कमा योजना पास भए पनि ऋण भने पाएनन् । दुःखले जोडेका ११ वटा गाईवस्तुमा थप गर्न बैङ्कमा १२ लाख ऋणका लागि आवेदन दिएका थिए । तर कुनै पनि बैङ्कले ऋण नदिएपछि पर्मलालले छोरा (सुजन) लाई फेरि विदेश पठाए ।
सरकारले बजेटमार्फत सहुलियत दरका कर्जालाई प्रभावकारी रुपमा विवरण गर्ने घोषणा गरेको थियो । पछिल्ला दिनहरुमा पनि अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलगायतले सरकारले ल्याएका सहुलियत दरका कर्जा प्रभावकारी रुपमा लागु गर्ने बताउँदै आएका छन् । तर निजी बैङ्कहरुको त कुरै छोडौँ, सरकारी बैङ्कहरुले पनि सहुलियत दरको कृषि कर्जा नदिएर युवाहरु विदेश पलायन हुने अवस्था सृजना भएको छ ।
बैङ्कले ऋण नदिएर विदेश पलायन भएका सुजन विक मात्रै एक्ला होइनन्, भरतपुर नगरपालिकाकै देवी आचार्यले पनि गाईपालनका लागि नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कमा गरी १० लाख ऋणका लागि १०-१२ पटक धाइन् । तर देवीले ऋण पाइनन् । बैङ्कहरुले विभिन्न बहाना बनाएर ऋण नदिएको गुनासो उनको छ । ‘बैङ्कले दिन्छु भन्दै महिनौँसम्म लगाए, अब त आस नि मरिसक्यो,’ उनले भनिन् ।
उनका श्रीमान् मानबहादुर आचार्य लागि ८÷१० वर्ष विदेशमा बसे । अहिले घरमा आएका छन् । दुवै जना मिलेर गाईफार्म चलाउने उनीहरुको योजना थियो । तर बैङ्कले ऋण नदिँदा उनीहरुको पनि बिचल्ली भएको छ । ‘अब विदेश नपठाई उपाय नै छैन,’ देवीले गुनासो गरिन् ।
बैङ्कले ऋण नदिएर तनावमा रहेका अर्का व्यक्ति हुन्, भरपुर नगरापालिका–२३ कै मेघनाथ भुसाल । उनले बाख्रापालनका लागि ८÷१० लाख रुपैयाँ खर्च गरेर फार्म पनि बनाए । आफ्नै लगानीमा अहिले उनले ३० वटा बाख्रा पालन गर्दै आएका छन् । मेघनाथलाई अझै बाख्रा थपेर वैदेशिक रोजगारीमा गएको आफ्नो छोरालाई पनि त्यसै फार्ममा संलग्न गराउने इच्छा छ । तर सुजन र देवीले जस्तै सकस उनले पनि भोगे बैङ्कबाट । उनले भने, ‘पहुँच हुनेले मात्रै पाउँछन् सहुलियत ऋण ।’ २० लाख ऋणका लागि मेघनाथ पनि कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क गएका थिए । गत जेठमा उनले फार्मको योजना बुझाए पनि अझै ऋण पाउन सकेका छैन ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा युवालाई स्वरोजगारमा आकर्षित गर्न बजेटमार्फत आएको सहुलियत दरका कर्जा कार्यक्रमप्रति आकर्षण बढ्न सकेको छैन । कम ब्याज आउने भएका कारण बैङ्कले यस्तो कर्जा दिन निकै आलटाल गरिरहेका छन् । बैङ्कमा जाँदा कर्जा नदिने अनि आवेदन परे पनि छिटो प्रक्रिया नै अगाडि नबढाउँदा सहुलियत दरको कर्जा लक्षित वर्गसम्म पुग्न सकेको छैन ।
सरकारले ल्याउने अधिकांश सहुलियत दरका कर्जा प्रायः असफल हुने गरेका छन् । सम्बन्धित सरोकारवाला पक्षहरुसँग पर्याप्त छलफल नगरी ल्याइएकाले यस्ता कर्जा योजनाहरु असफल हुने गरेको सरोकारवाला बताउँछन् ।
सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक व्यावसायिक कर्जा र भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जालगायतका विभिन्न ७ प्रकारका सहुलियत दरका कर्जा ल्याएको छ ।
नेपाल राष्ट्र बैङ्कले यस्तो कर्जा लिन आग्रह गर्दै आए पनि बैङ्कले नै चासो नदिँदा यस्तो कर्जा लक्षित वर्गसम्म पुग्न सकेको छैन । कर्जामा तोकिएको ब्याज अनुदानसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैङ्कले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ जारी गर्दै यस्तो कर्जा दिन बैङ्क तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिसकेको छ ।