काठमाडौं । भारतले सोमबार (भोलि) बाट कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएर अर्थतन्त्र चलायमान बनाउने भएको छ ।
भारतकै कारण नेपाल कोभिडको उच्च जोखिममा पर्दै आएको थियो । अब त्यहाँ कोभिडसम्बन्धी सबै प्रतिबन्ध फुकुवा गरेपछि नेपालले पनि त्यसैलाई अनुशरण गर्नुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
नेपालको अर्थतन्त्रको बाह्य क्षेत्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको निकै महत्वपूर्ण योगदान रहन्छ । अहिले नेपालको बाह्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । भारतले जस्तै नेपालले पनि सबै प्रतिबन्ध हटाएर विश्वसामु नयाँ सन्देश दिएको अवस्थामा विदेशीहरु नेपाल घुम्न आउने र नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र सुध्रिने पर्यटन व्यवसायी सुमन पाण्डे बताउँछन् ।
कोरोनाको संक्रमणदर एक प्रतिशतभित्र झरेपछि विभिन्न विषयमा लगाइएको प्रतिबन्ध भारतले दुई महिनापछि भोलिबाट हटाउन लागेको हो ।
अनिवार्य मास्कबाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने भएका हुन् । मास्क नलगाउने मानिसलाई गर्दै आएको २ हजार जरिवानालाई घटाएर ५ सयमा झारिएको छ ।
रात्रिकालीन कफ्र्यु, पसल व्यवसाय खोल्ने समयसीमा, आधा क्षमतामा मात्रै होटल रेस्टुराँ, सिनेमा हल चलाउनुपर्ने सबै खाले प्रतिबन्ध हटाइएको छ ।
यस्तै सार्वजनिक यातायात मेट्रो र बस पनि पूर्ण क्षमतामा चल्न पाउने छन् ।
नेपालमा अझै पनि पीसीआर अनिवार्य गरिएको छ । त्यसै गरी, १०० जनाभन्दा बढी भेला हुन नपाइने व्यवस्था छ । धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा घुमघाम गर्न लगाइएको प्रतिबन्ध पनि हटाउनुपर्ने होटल व्यवसायी प्रविण पाण्डे बताउँछन् ।
यति बेला धेरै पर्यटक नेपाल आउन इच्छुक छन् । तर, नेपालले कायम राखेको हेल्थ प्रोटोकलका कारण यहाँ आउने पर्यटकहरु अन्यत्रै मोडिएका छन् ।
अहिले नेपाललाई जतिसक्दो डलर भित्र्याउनुपर्ने आवश्यकता छ । आयात बढ्दै गएपछि सरकारले डलर जोगाउन धेरै वस्तुको आयात कडाइ गर्नुपरेको छ ।
तर, डलर भित्र्याउने क्षेत्रलाई खुला गर्न सरकारी पहल नदेखिएको पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।
पर्यटन व्यवसायीले सरकारलाई पीसीआरको झन्झटबाट देशलाई मुक्त बनाउन बारम्बार आग्रह गरिरहेका छन् । दोहोरो खोप लगाएको प्रमाण देखाएर पर्यटकलाई सहज रुपमा आवागमन गर्न दिनुपर्ने पर्यटन व्यवसायीको माग छ ।