काठमाडौं । प्यारामाउन्ट मोटर्सले आफ्नो नयाँ विद्युतीय गाडी एमजी जेडएस ईभी २०२२ सार्वजनिक गरेको छ । कम्पनीले आइतबार नक्सालस्थित आफ्नो सोरुममा एमजी जेडएस ईभी २०२२ को दुइटा भेरियन्ट सार्वजनिक गरेको छ ।
कम्पनीले ५१ लाख ९९ हजार रुपैयाँको स्ट्यान्डर्ड रेन्ज र ५९ लाख ९९ हजार रुपैयाँको लङ रेन्ज भेरियन्ट सार्वजनिक गरेको हो । एमजी २०२२ मा जेडएस ईभी २०१९ को अपडेटेड भर्सन हो । यसमा कम्पनीले धेरै परिवर्तनहरु ल्याएको हो ।
सन् २०१९ को भर्सनको फ्रन्ट ग्रिललाई परिवर्तन गरेर जेडएसको नयाँ भर्सनमा छुट्टै किसिमको ग्रिल डिजाइन गरिएको छ । पुरानो भर्सनमा ग्रिलमा रहेको एमजीको ब्याजभित्र चार्जिङ पोर्ट राखिएको थियो भने अहिले त्यसको ठाउँ परिवर्तन गरिएको छ । यद्यपि त्यो ग्रिलभित्रै राखिएको छ । साथै नयाँ चार्जिङ पोर्टमा चारओटा एलईडी लाइट पनि राखिएको छ जसले चार्जिङको अवस्था बताउँछ । नयाँ भर्सनमा गाडीको रियर बम्पर र अलोय ह्विल पनि रिडिजाइन गरिएको छ ।
नयाँ भर्सनमा एमजीले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको यसको ब्याट्री क्षमता हो । पुरानो भर्सनमा ब्याट्री क्षमता ४९ किलोवाट आवर थियो भने अहिले स्ट्यान्डर्ड रेन्जको ब्याट्री क्षमता ५१.५ किलोवाट रहेको छ । यो भेरियन्टको ३ सय १९ किलोमिटर रेन्ज छ । यसै गरी दोस्रो भेरियन्टको ब्याट्री क्षमता ७२.६ किलोवाट आवर छ जसले ४४० किलोमिटरको माइलेज दिन्छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम रहेको छ ।
एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एडभान्स्ड ड्राइभर असिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित छ । यसमा १३० एचपीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ । यो गाडी ८.५ सेकेन्डमा सय किलोमिटर प्रतिघण्टाको दरमा गुड्न सक्छ ।
गाडीको इन्टेरियर लेदर फेब्रिक राम्रो र नरम छ । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ, जसमा एकदमै साना आइकन छन् । यद्यपि एकदमै रेस्पोन्सिभ रहेको छ । जसमा एन्ड्रोइड र एप्पल कार प्ले दुवैले काम गर्न सक्छ ।
कार्यक्रममा बोल्दै प्यारामाउन्ट मोटर्सका प्रमुख सचिन अर्यालले नेपाली सडकमा गुडिरहेको ईभीमा ५० प्रतिशत संख्या एमजीको रहेको बताएका छन् ।
नेपालमा ईभीको अपरिहार्यतालाई ध्यानमा राखेर यसको पूर्वाधार निर्माणमा लगानी बढाउने प्रतिबद्धतासमेत उनले जनाएका छन् ।