काठमाडौं । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक समयमा नबसेपछि सेयर बजार ओरालो लागेको छ । १२ बजेर ५० मिनेटमा आइतबारकै उच्च २६८० मा चढेको बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) त्यसपछि भने ओरालो यात्रामा रह्यो ।
गठबन्धन दलहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) व्याख्यात्मक घोषणासहित पारित गर्ने सहमतिपछि सेयरमा सकारात्मक प्रभाव देखिएको थियो । तर, तोकिएको समयमा वैठक नबसेपछि लगानीकर्ता केही अन्योलमा देखिएका छन् ।
जसको प्रभाव सेयर सूचक घटेको छ । तर, जलविद्युत समूहमा भने चमक आएको छ । यद्यपि यसअघिको तुलनामा जलविद्युत क्षेत्रको चमक पनि मत्थर हुँदै गएको छ । जलविद्युत र अन्य समूह उकालो लागेको छ ।
उच्च मूल्य वृद्धि हुने २० कम्पनीहरुमध्ये १५ वटा जलविद्युत समूहका छन् । यद्यपी सबैभन्दा बढी नेसनल हाइड्रोपावरको ४.५३ प्रतिशतले मूल्य बढेको छ । यसअघि मूल्य वृद्धिको दर बढी थियो । साताको पहिलो दिन ऋणपत्र तथा म्युचुअल फण्ड बाहेक ६९ कम्पनीहरुको मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ ।
आइतबार २६३८ सम्म झरेको सूचक बन्द हुँदा बिहीबारको तुलनामा ७.७३ अंकले घटेर २६५३.७ अंकमा रोकिएको छ । एमसीसी पास हुने हल्लासँगै उचाइ लिन खोजेको जलविद्युत समूह विस्तारै मत्थर भएको छ । सरकारले आइतबारनै संसदबाट एमसीसी पास गर्ने रणनीति बनाए पनि ३ बजेसम्म प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।
आइतबार बजार सूचकमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने आशातित रुपमा बढ्न सकेन । गत बिहीबार ४ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आइतबार करिब २४ प्रतिशतले घटेर ३ अर्ब २४ करोड रुपैयाँ सीमित भएको छ ।
आइतबार युनिभर्सल पावर कम्पनीको सबैभन्दा बढी २० करोड ४४ लाख रुपैयाँको सेयर किनबेच हुँदा बढी मूल्य कम्पनीमा हिमालय जनरल इन्स्योरेन्स (४.५८ प्रतिशत) रहेको छ । कारोबार प्रवृत्ति राजनीतिक घटनाक्रम र बढ्दो ब्याजदरको दबाब जस्ता कारणहरुले बजार अझै केही समय स्थिर जस्तै देखिने संभावना छ ।