पाेखरा । पोखरा–जोमसोम हवाई उडान सेवा २ महिनापछि सञ्चालन भएको छ ।
हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो ।
जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुष्कलराज शर्माले २ महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । 'समिट एयरले शनिबार र आइतबार २/२ चार्टड फलाइट गरेको छ', उनले भने', 'तारा एयरले पनि उडानको तयारी गरेको छ ।'
पोखरा–जोमसोम हवाईमार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक ५/५ वटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ ।
मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाईमार्ग भएर मुस्ताङ पुग्न थालेका छन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाईमार्ग भएर मुस्ताङ जान/फर्किन टिकट बुकिङ हुन थालेको छ ।
स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ ।
अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । घाँसा प्रहरी चौकीका अनुसार दैनिक १ हजार ५०० पर्यटक सडकमार्ग भएर मुस्ताङ भित्रिएका छन् । चौकीका इञ्चार्ज मनबहादुर कार्कीले दैनिक तीन सयको हाराहारीमा मोटरसाइकल, स्कार्पियो जीप र बसमा पर्यटक मुस्ताङ भित्रिएका बताए ।
मुक्तिनाथ मन्दिर, कागबेनीलगायत धार्मिक र पर्यटकीयस्थलमा चहलपहल बढेको छ । मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले गर्मी बढ्नाका साथै कोरोना संक्रमण दर पनि घटेपछि तीर्थयात्रीको आगमन हुन थालेको बताए ।