काठमाडौं । विवादकाबीच बहुचर्चित र बहुप्रतिक्षित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संघीय संसदबाट पास गर्न राजनीतिक दलहरु उद्धत देखिएसँगै सेयर बजारमा उछालको संकेत देखिएको छ । खासगरी, जलविद्युत् कम्पनीहरुमा तीव्र उछालको पूर्वसंकेत मिलेको ।
यसअघि पनि एमसीसी प्रतिनिधिसभामा टेबल भएसँगै जलविद्युत् समूहमा उछाल आएको थियो । तर, एमसीसी पास गर्ने नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनमै अलमल र बिरोधावास देखिएपछि बजार सुस्ताएको थियो । तर, शनिबारदेखि सत्तारुढ घटकहरु व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न तयार भएका थिए ।
गठबन्धनका शीर्ष नेतृत्वबीच एमसीसीमा असहमति रहेका विषयहरुलाई व्याख्यात्मक घोषणामा समेट्ने र ऐनको अंगका रुपमा राखेर एमसीसीलाई पारित गर्ने सहमति भएको थियो । लगत्तै गठबन्धको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेपछि त्यसको प्रभाव बजारमा देखिएको हो ।
सरकारको नेतृत्व गरेको नेपाल कांग्रेसले भने यसअघि नै एमसीसी पास गर्ने सर्वसम्वत निर्णय गरिसकेको छ । यता तेस्रो घटक नेकपा एकीकृत समाजवादीको पनि स्थायी कमिटी बैंठक बसिरहेको छ । त्यसले पनि ब्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने बताइएको छ ।
एमसीसी पास भएपछि प्रशारण लाइन र केही क्षेत्रमा सडक सञ्जाल विस्तार गर्न ५० करोड अमेरिकी डलर अनुदान र करिब १४ डलर नेपाली पक्षले खर्च गर्नेछ ।
नेपालमा आयोजना निर्माणमा अधिक समय लाग्ने र तोकिएको समयमा कुनै पनि आयोजना पूरा नभएको भन्दै अमेरिकाले एमसीसी परियोजना सुरु गर्नुपूर्व कानुन बनाउनुपर्ने सर्त राखेको थियो ।
बिहीबार २६६१ मा रहेको नेप्से आइतबार कारोबार खुल्दा केही घटेको थियो । तर, सामान्य बढ्ने प्रवृत्ति देखाए पनि सूचक आघा घण्टामै २६३८ मा झरेको थियो । तर, एमसीसी पारित गर्ने सबै पक्षमा सकारात्मक सिग्नल आएसँगै बजारले उकालो यात्रा समायो र १२ बजेर ४५ जादा सूचक करिब १७ अंकले बढेको छ । बढ्ने क्षेत्रमा जलविद्युत नै अग्रपत्तिमा छ ।
उच्च मूल्य वृद्धि भएका ३० कम्पनी मध्ये २५ वटा जलविद्युतसँग सम्बन्धीत कम्पनी छन् । यद्यपि, सबैभन्दा उच्च मूल्य एनएचपीसीको ५.६४ प्रतिशतले बढेको छ । तर, कारोबार रकम भने खासै वृद्धि देखिएको छैन । यस अवधिसम्म १ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।