काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा र बाराको सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न उद्योगीहरुलाई बोलाएको छ ।
सेजले दिनुपर्ने जति सुविधा नदिएको, जग्गाको भाडा महँगो भएको र उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने मापदण्डका कारण उद्योग स्थापना गर्न नसकेको उद्योगीहरुले बताउँदै आएका थिए । उद्योगीहरुलाई आकर्षित गर्न भन्दै सेजले ऐन संशोधनको प्रकृयालाई अगाडि बढाउँदै उद्योग स्थापनाका लागि सार्वजनिक आह्रवान गरेको हो ।
सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले यसअघि तोकेको मापदण्डमा उद्योगी आकर्षित नभएपछि सहज बनाउन ऐन संशोधनको प्रकृयामा अगाडि बढाएको बताएका छन् । सेजले भैरहवामा ४५ वटा ब्लग र सिमरामा ६८ वटा ब्लगको लागि १५ दिनभित्र आवेदन दिन उद्योगीहरुलाई सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
विशेष आर्थिक क्षेत्रले आन्तरिक सडक, पानी, विद्युत, सुरक्षा, पेट्रोलपम्प, धर्मकाटा, बैंक तथा बिमा, दूषित पानी प्रशोधन केन्द्र जस्ता सुविधा उपब्ध गराउने जनाएको छ ।
सेजले हाल उपलब्ध गराइरहेको सुविधामा उद्योगीहरु आकर्षित नभएपछि सेजले हाल दिँदै आएको सुविधामा थप गरी पहिलो २ वर्ष निर्यात छुट दिने जनाएको छ । त्यस्तै तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत र पाँचौं वर्षपछि मात्रै ६० प्रतिशत निर्यात गर्न विशेष आर्थिक क्षेत्र ऐन २०७३ लाई संशोधन गर्न लागेको सेजका कार्यकारी निर्देशक भट्टले बताए ।
त्यस्तै, हाल लिँदै आएको जग्गाको भाडामा समेत ५० प्रतिशत छुट दिने भएको छ । हाल सेजले प्रतिवर्ग मिटर २० रुपैयाँ भाडा असुल गर्दै आएकोमा ऐन संशोधन भएपछि प्रतिवर्गमिटर १० रुपैयाँ मात्रै लाग्ने छ ।
हाल भैरहवा सजेमा ७ वटा उद्योग सञ्चालनमा रहेका छन् । २५ वटा उद्योगले अनुमति लिएको भए पनि लामो समयसम्म उद्योग स्थापना नगरेको भन्दै सेजले १८ वटा उद्योगको अनुमति खारेज गरेको थियो । हाल भैरहवामा ब्रिलियन्ट लाइट, शक्ति मिनिरल्स, पन्चकन्या स्टिल, विस्तार ग्लोबल, यस पोलिमर जस्ता उद्योगहरु सञ्चालनमा छन् ।
त्यस्तै सिमरा सेजको पनि निमार्ण कार्य सकिएको छ । सिमराका ६८ ब्लकका लागि उद्योग स्थापना गर्न सेजले आह्वान गरेको छ । सिमरामा स्पेसल गार्मेन्ट जोन बनाउने बताइए पनि हाल अन्य उद्योगको लागि पनि खुला गरिएको छ ।