काठमाडौं । वैदेशिक रोजगारमा गएकाहरुले नेपालमा हुन्डीमार्फत पैसा पठाइरहेको खबर सार्वजनिक भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिँदा नै बैङ्क खाता अनिवार्य गराएको छ । गत सोमबारबाटै बैङ्क खाता अनिवार्य गराउने भनिए पनि केही अलमल भएको भन्दै तत्कालका लागि रोकेका थिए ।
श्रम मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहचलले वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रुपमा बैङ्क खाता खोल्नुपर्ने र निजले श्रम स्वीकृतिका लागि फारम भर्दा अनिवार्य रुपमा बैङ्क खाता नम्बर राख्नुपर्ने जनाएको छ ।
कार्यालयले श्रम स्वीकृति लिने व्यक्तिकै खाता नम्बर हो भन्न प्रमाणसहित पास बुक, चेक बुक एटीएम, खातामा रकम जम्मा गरेको भौचर, स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।
बैङ्क खाता अनिर्वाय गराउनुपर्ने कानुनी व्यवस्था भएको हुँदा नवीकरण, वैधानिकीकरण, नयाँ र संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने सबै कामदारले अनिवार्य रुपमा बैङ्क खाता खोलेपछि मात्र श्रम स्वीकृतिका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै बैङ्क खाता नभएमा श्रम स्वीकृति नदिइने जनाएको छ ।
श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि बैङ्क खाता अनिवार्य गर्ने व्यवस्था मिलाइएको बताउँदै यो प्रावधानले श्रमिकको कमाइमा बचत गर्ने र बैङ्किङ प्रणालीबाट रेमिट्यान्स पठाउने कुरामा थप सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा हुने हुन्डी कारोबारलाई रोक्ने पहिलो कदमका रुपमा बैङ्क खाता अनिवार्यलाई लिन सकिने जानकारी दिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भने श्रम कार्यालय ताहचलको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष रोहन गुरूङले कुनै व्यक्तिको बैङ्कसँग सम्बन्धित कागजात (एटीएम, चेक, पासबुक) कहीँकतै रेकर्ड राख्ने वा पत्राचार गर्ने कार्यमा वैदेशिक रोजगार व्यवसायीहरुले कुनै सहयोग गर्न नसक्ने बताएका छन् ।
नेपाल सरकारलाई वैदेशिक रोजगारमा जाने कामदारको बैङ्क खाता हुनु नै पर्ने भन्ने लागेको हो भने राहदानी बनाउँदा वा नवीकरण गर्दा दिने आवेदनमा बैङ्क खाता विवरण उल्लेख गर्ने व्यवस्था गर्दा प्रभावकारी हुने सुझाव दिएका छन् ।