काठमाडौं । गाडी बिक्रीमा हुन्डाई र मारुतीबीच कडा टक्कर देखिएको छ । सन् २०२१ को तथ्यांक हेर्दा यी दुई कम्पनीबीच आफ्नो सेयर बढाउन होडबाजी चलेको देखिन्छ ।
तथ्यांकअनुसार हुन्डाईले २०२१ भरी ४ हजार ९९ वटा गाडी बिक्री गरेको छ । यस्तै मारुतीका ४ हजार ७९ वटा गाडी बिक्री भएको देखिन्छ । कुल गाडीको बजारमा हुन्डाईको २२.५० प्रतिशत बजार हिस्सा छ भने मारुतीको २२.३९ प्रतिशत छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी कन्टिनेन्टलले सन् २०२१ को जनवरीमा १९० वटा गाडी बिक्री गरेको थियो । सोही महिना मारुती गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले ३१६ गाडी बेचेको थियो ।
तर, फेबु्रअरीमै हुन्डाईले गाडी बिक्री झन्डै दोब्बरले बढाएको देखिन्छ । एक महिनाको अन्तरालमा हुन्डाईले ३६१ वटा गाडी बिक्री गरेको तथ्यांकमा उल्लेख छ । यस्तै फेब्रुअरीमा मारुतीले भने जति गाडी जनवरीमा बेचेको थियो, सोही परिमाणमा मात्रै बेच्न सफल भएको छ ।
जनवरीमा सुस्त रहेको हुन्डाई मार्च महिनामा झन् आक्रामक बनेको देखिन्छ । मार्चमा हुन्डाइले ५३८ वटा गाडी बिक्री गर्न सफल भएको छ । यद्यपि, मारुतीले पनि आफ्नो बिक्री संख्यालाई केही बढाएको छ । मार्चमा मारुतीले ४३३ वटा गाडी बेचेको देखिन्छ ।
त्यसै गरी, अप्रिलमा हुन्डाईले ५३९ वटा गाडी बिक्री गरेको छ । मारुतीले उक्त महिनामा ४७१ वटा गाडी बेचेको छ । तर, मे महिनामा दुवै कम्पनीको गाडी बिक्रीमा ठूलो गिरावट आएको छ । उल्लिखित महिनामा हुन्डाईले जम्मा ६९ वटा मात्रै गाडी बेच्दा मारुतीले भने ४२ वटा मात्रै बेचेको देखिन्छ ।
बिक्रीमा तलमाथि भइरहँदा जुन महिनामा भने पुनः गाडी बिक्री उच्च देखिएको छ । हुन्डाईले जुनमा ३१४ वटा गाडी बेचेको छ । मारुतीले त्यसको आधा पनि बेच्न सकेको छैन । उसले १३९ वटा मात्रै गाडी बेचेको छ । यस्तै जुलाईमा फेरि गाडी बिक्रीमा केही सुस्तता देखिएको छ । हुन्डाईले २६४ वटा गाडी बेचेको देखिन्छ भने मारुतीले जुनको तुलनामा जुलाईमा संख्या बढाएको देखिन्छ । जुलाईमा मारुतीले १९६ थान गाडी बेचेको छ ।
अगस्टमा हुन्डाइले ५४७ थान र मारुतीले २८४ थान गाडी बेचेको तथ्यांक छ । सेप्टेम्बरदेखि डिसेम्बरसम्म हुन्डाईलाई मारुतीले जितेको छ । सेप्टेम्बर अक्टुबर, नोभेम्बर र डिसेम्बरमा हुन्डाईका क्रमशः ४८८, ४७८, १५६, १५५ थान बिक्री भएका छन् भने मारुतीका क्रमशः ५२३, ५६५, ३२२, ४७२ थान बिक्री भएका छन् ।
यी दुई कम्पनीबीच को पहिलो बन्ने भन्ने ठूलो होड छ ।
अहिलेसम्म गाडी बिक्रीको हिसाबलाई हेर्दा हुन्डाई एक नम्बरमा छ । यद्यपि दोस्रो स्थानमा रहेको मारुतीको ग्याप त्यति ठूलो भने छैन ।