काठमाडौं । प्यारामाउन्ट मोटर्सले २०१९ गत डिसेम्बरमा बहुप्रतिक्षित एमजी जेडएस ईभी सार्वजनिक गर्यो । त्यस बेला अन्य समकक्षी विद्युतीय कारहरुको तुलनामा एमजी जेडएस ईभी एकदमै सस्तो थियो । तर, गाडीको रेन्ज सोचेजस्तो नभएको हुँदा ग्राहकहरु पूर्णरुपमा सन्तुष्ट हुन सकेनन् ।
जेडएस ईभीमा भएका यीनै कमजोरीलाई सुधार्दै एमजीले २०२२ मा जेडएस ईभीको अपडेटेड भर्सन सार्वजनिक गरेको छ । नयाँ अपडेटेड भर्सन सस्तो छ । साथै यसको रेन्ज पनि धेरै छ ।
यसबाहेक पनि नयाँ अपडेटेड भर्सनमा एमजीले धेरै परिवर्तनहरु गरेको छ ।
सन् २०१९ को भर्सनको फ्रन्ट ग्रिललाई परिवर्तन गरेर जेडएसको नयाँ भर्सनमा छुट्टै किसिमको ग्रिल डिजाइन गरिएको छ । पुरानो भर्सनमा ग्रिलमा रहेको एमजीको ब्याजभित्र चार्जिङ पोर्ट राखिएको थियो भने अहिले त्यसको ठाउँ परिवर्तन गरिएको छ । यद्यपि त्यो ग्रिलभित्रै राखिएको छ । साथै नयाँ चार्जिङ पोर्टमा चारओटा एलईडी लाईट पनि राखिएको छ जसले चार्जिङको अवस्था बताउँछ ।
नयाँ भर्सनमा गाडीको रियर बम्पर र अलोय ह्वील पनि रिडिजाइन गरिएको छ ।
नयाँ भर्सनमा एमजीले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको यसको ब्याट्री क्षमता हो । पुरानो भर्सनमा ब्याट्री क्षमता ४९ किलोवाट आवर थियो भने अहिले ६८.३ किलोवाट रहेको छ । यस्तै यसअघि गाडीको रेन्ज २७३ माइल थियो भने अहिले १ सय माइल थप बढेको छ ।
गाडीको इन्टेरियरको कुरा गर्दा यसमा प्रयोग भएका लेदर फेब्रिक राम्रो र नरम छ । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छ, जसमा एकदमै साना आइकन छन् ।
एन्ड्रोइड र एप्पल कार प्ले दुवैले काम गर्न सक्छ ।
यसको रियर पार्किङ सेन्सर क्यामेरामा ३६० डिग्री एंगल नै देख्न सकिन्छ । यसमा फोवार्ड फेसिङ, रिभर्सिङ तथा साइड सबै किसिमका क्यामेरा छन् । यसको डिस्प्ले रेज्युलेसन भने एकदमै न्यून गुणस्तरको छ जुन यसको कमजोर पाटो हो ।
यसको इन्टेरियरमा पर्याप्त स्पेस छ । हेडरुम, लेगरुम र बूटमा पनि पर्याप्त स्पेस छ । एमजी जेडएस ईभीको यो नयाँ भर्सन वास्तवमा एकदमै व्यावहारिक छ ।
एमजीले यो गाडीलाई तीनओटा भेरियन्टमा निर्माण गरेको छ । जसको अन्तर्राष्ट्रिय मूल्य एसई भेरियन्टको २९ हजार ४ सय ९५ डलर, ट्रफी भेरियन्टको ३३ हजार ४ सय ९५ डलर र अर्को ट्रफी कनेक्टको मूल्य ३३ हजार ९ सय ९५ डलर रहेको छ ।