काठमाडौं । देशलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान गरेका उद्योगहरु विस्तारै संकटतर्फ धकेलिन थालेका छन् । सिमेन्ट, डन्डी, दाना, कुखुराजन्य उत्पादन, जुत्ता/चप्पलमा नेपाल आत्मनिर्भर हुँदै थियो । तर, केही समयदेखि यी उद्योगहरुमा विस्तारै संकट निम्तिन थालेको सम्बद्ध क्षेत्रका उद्योगीहरुले बताएका छन् ।
नेपाल उल्लिखित कुरामा आत्मनिर्भर भएको अवस्था छ । यी उत्पादनमध्ये अझै पनि ठूलो परिमाणमा जुत्ता/चप्पल भन्सार छली तथा न्यून बिजीकरण भएर भित्रिन्छ । त्यसो हुँदा यो क्षेत्र निरन्तर थलिँदै गएको किरण सुजका प्रबन्ध निर्देशक आमिर राणा बताउँछन् ।
‘नेपाल जुत्ता/चप्पलमा पूर्णरुपमा आत्मनिर्भर भइसकेको छ’, उनले भने, ‘तर, चोरी–पैठारी र न्यून बिजकीकरण भएर आएका जुत्ता/चप्पलसँग प्रतिस्पर्धा गर्न नसकेकाले स्वदेशी उद्योग थलिरहेका छन् ।’
एकातिर चोरी–पैठारी भएर आउने सामानसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्नुपरेको छ भने अर्कोतिर उद्योगबीचको अस्वाभाविक प्रतिस्पर्धाले खर्बौं रुपैयाँको लगानी र हजारौं रोजगारी धरापमा पर्ने जोखिम पनि बढेर गएको उद्योगीको भनाइ छ ।
आत्मनिर्भर उद्योगलाई जोगाउन समयमै उचित नीति नलिने हो भने नेपालको औद्योगिकीकरणमा ठूलो समस्या हुने उनीहरुको भनाइ छ । सिमेन्ट उद्योगमा त कतिपयले घाटा कम गर्नकै लागि लागतभन्दा पनि कम मूल्यमा उत्पादन बेच्न बाध्य छन् ।
यसै पनि नेपालको औद्योगिकीकरणको गति अति धिमा छ । पछिल्लो समय आत्मनिर्भरोन्मुख उत्पादनमूलक उद्योग थप समस्यामा पर्न थालेको उद्योगी शशिकान्त अग्रवाल बताउँछन् ।
उद्योगमा परेको असरको चक्रीय प्रभाव अर्थतन्त्रका अनेक आयामहरूमा जोडिएको हुन्छ । उत्पादन, बजार, माग, रोजगारी, आय, राजस्व हुँदै अर्थतन्त्रका प्रत्येक चरणहरुमा उद्योगमा परेको असरको प्रभाव हुन्छ ।
सरकारले सिमेन्टलाई निकासीयोग्य वस्तुको सूचीमा राखेको छ । लागत न्यूनीकरण गरेर प्रतिस्पर्धी बनाउने दिशामा आशाजनक काम भने हुन सकेको छैन । तर, पनि नयाँ लगानी आउने क्रम रोकिएको छैन ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका कुनै पनि क्षेत्रमा लगानी आउनु सकारात्मक कुरा भएको बताउँछन् । लगानी र उत्पादन बढिराख्दा बजार विस्तार नहुनु गम्भीर चिन्ताको विषय भएको उनको गुनासो छ । हालै नेपाल राष्ट्र बैंकले सिमेन्ट उद्योगले क्षमताको आधा पनि उत्पादन गर्न नसकेको प्रतिवेदन निकालेको थियो ।
२०७२ सालको भूकम्पपछि नेपालमा डन्डीको बजार बढेको हो । त्यसयता यो क्षेत्रमा ठूलो परिमाणमा लगानी पनि भित्रियो । नेपालमा डन्डीको माग करिब १५ लाख मेट्रिकटनको हाराहारीमा छ ।
उत्पादन क्षमता ३५ लाख मेट्रिकटन पुगिसकेकेको छ । उत्पादन क्षमताको आधामा सञ्चालन भइरहेका उद्योगहरू समस्यामा परेको सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउँछन् ।
कुखराजन्य उद्योगमा पनि पर्याप्त लगानी भएको छ । कुखुरापालन, अन्डा र दाना उद्यममा २ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको निम्बर होल्डिङका कार्यकारी निर्देशक डा. दिनेश गौतमको भनाइ छ ।
कुखुराको मासु, अन्डा र दानामा नेपाल आत्मनिर्भर छ । कुखुरापालन यति प्रतिस्पर्धात्मक भइसक्यो कि, भाउ बढाउन केही महिनाअघि व्यवसायीले ६० लाख जिउँदा चल्ला खाल्डोमा पुरेका थिए ।
एकताका नेपालमा राम्रै कमाइ गरेका मदिरा उद्योगको बजार पनि खुम्चिएको उद्यमीहरू बताउँछन् । नेपालमा एक समय राम्रो आर्जन गरेको घिउ, तामा, जिंकलगायत उद्योग अहिले इतिहास भइसकेको सम्बद्ध उद्योगीहरुको भनाइ छ ।
तेल उत्पादनमा रुपान्तरण भएकाहरुको अवस्था पनि भारतीय नीतिमा निर्भर हुने गरेको छ । भारतले आयात खुला राख्दा नेपालका तेल उद्योग फस्टाउँछन् ।
अहिले कोरोना महामारीका कारण उपभोक्ताको क्रयशक्तिमा कमी आएको छ । विकास निर्माणका कामले गति लिएका छैनन् । आर्थिक गतिविधि र आय आर्जनका अवसरमा आएको कमीले बजार, उपभोग र माग प्रभावित भएको छ । यसले समग्र बजार प्रभावित भएको छ । जसले गर्दा उद्योगलाई समस्या पर्ने नै भयो ।
यस्तै सरकारले बजेट खर्च नबढाउनु पनि उद्योग अघि बढ्न नसक्नुको प्रमुख कारण हो । राष्ट्रिय गौरवका आयोजनाहरूले गति लिन सकेको भए निर्माण सामग्रीका उद्योगले पनि गति लिने उद्योगीहरु बताउँछन् ।