काठमाडौं । सामुदायिक स्वास्थ्य निरीक्षणका लागि इजरायलको ‘रिमोट हेल्थकेयर मोनिटरिङ’ एप नेपालमा सार्वजनिक भएको छ ।
इजरायली हेल्थकेयर सफ्टवेयर सोल्युसन बिनाह एआईले निर्माण गरेको उक्त एपले व्यक्तिगत स्मार्टफोनलाई मेडिकल डिभाइसमा परिणत गर्ने कम्पनीले बताएको छ ।
उक्त एपमार्फत अनुहार र औंला स्क्यान गरेर व्यक्तिले शरीरभित्रका विभिन्न ‘हेल्थ प्यारामिटर’ हरुको अवस्था थाहा पाउन सक्छन् । मोबाइलमा एपलाई इन्स्टल गरी सर्भिस एक्टिभेट गरेपछि ब्लड प्रेसर, मेन्टल प्रेसर, हर्टबिटिङ रेट, अक्सिजनको तह र स्वासप्रस्वासको रेट थाहा पाउन सकिन्छ ।एपको विश्वासनीयता ९७ प्रतिशत रहेको कम्पनीको दाबी छ ।
एपलाई मोबाइलमा इन्स्टल गरेपछि क्यामेरामा अनुहार स्क्यान गर्नुपर्दछ । यसरी स्क्यान गरेपछि शरीरको सम्पूर्ण स्वास्थ मापदण्डहरुको अवस्था मोबाइलमै हेर्न सकिन्छ । फेस स्क्यान गर्न नचाहेको खण्डमा औंलालाईसमेत स्क्यान गर्न सकिन्छ । कम्पनीले उक्त एपमा कोलेस्ट्रोल, ब्लड सुगर र लिबिडो टेस्टिङको सुविधा पनि थप गरिरहेको बताएको छ ।
शून्य हेल्क सोल्युसन प्रालिले नेपालमा ल्याएको यो एपलाई प्रयोग गरेमा महंगा ‘रिमोट हेल्थकेयर मोनिटरिङ’ उपकरण खरिद गर्न पर्दैन ।
एपमार्फत चिकित्सकले बिमारीहरुको रिमोट मोनिटरिङ तथा रिमोट चेकअप गर्नसक्छन् ।
चिकित्सक तथा अस्तापलसँग यस्तो एपहरु लिंक हुने भएको कारण विरामीको स्वास्थ्य अवस्था जटिल भए एपले सम्बन्धित चिकित्सकलाई नोटिफिकेसनसमेत पठाउँछ । एक मिनेटमै एपले फेस तथा फिंगर स्क्यान गरेर परिणाम निकाल्छ ।
‘आजको दिनमा स्वासप्रस्वास रेट जाँच गर्न अस्पताल अनिवार्य जान पर्छ, तर बिनाह एपले घरमा मोबाइलबाटै यो सुविधा प्रदान गर्छ,’ बिनाहका प्रतिनिधि एन्टोन चेन्टोले भने ।
एप प्रयोग गर्न पनि एकदमै सामान्य र सजिलो रहेको प्रतिनिधि चेन्टोले बताए । हाल विश्वभर ५ करोड प्रयोगकर्ताहरुले बिनाह एप प्रयोग गरेर स्वास्थ सेवा लाभ लिइरहेको उनले बताए ।
भौगोलिक अवस्था तथा विभिन्न कारणवश अस्पताल तथा स्वास्थसेवाको पहुँच नपाएको धेरै क्षेत्रमा बिनाह एपले सामुदायिक स्वास्थ सेवा प्रदान गर्नका साथै स्वास्थ प्रणालीको एउटा राम्रो डेटाबेस बनाएर राष्ट्रिय स्वास्थ रणनीति निर्माणमा समेत सहयोग पुर्याउने स्वास्थ नीतिका विज्ञ चिकित्सक विजय तामाङले बताए ।
बिनाहको एपलाई शून्य हेल्थ सोल्युसनले बीटुबी मोडलमा नेपालमा ल्याएको हो । स्वास्थ संस्था, सार्वजनिक स्वास्थ संस्था, फर्मास्युटिकल, जीवन बिमा कम्पनीले यो सेवा लिएर उपभोक्तामाझ बाँड्न सक्ने कम्पनीले बताएको छ । यी कम्पनीहरुको युजरको संख्याको आधारमा सब्सक्रिप्सन शूल्क लाग्ने कम्पनीले बताएको छ ।
एप गुगल र एप्पल प्लेस्टोरमा उपलब्ध छ । एपमा स्क्यान गर्दा प्रयोगकर्ताले फेस स्क्यानमा टाउको हल्लाउन नहुने र फिंगरप्रिन्ट स्क्यानमा औंला चिसो राख्नु हुँदेन । एपले सामुदायिक स्वास्थ्य निरीक्षणमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने कम्पनीको विश्वास छ ।