क्वालालमपुर, मलेसिया । आगामी दुई साताभित्र १५ महिनादेखि अवरुद्ध मलेसियाको रोजगारी खुल्ने भएको छ । दुई देशबीचको संयुक्त प्राविधिक कार्यदलको बैठकपछि रोजगारी खुला हुने भएको हो ।
रोजगारी खुलाउन यही भदौ २४ र २५ गते क्वालालमपुरमा नेपाल र मलेसियाको प्राविधिक कार्यदलको बैठक बस्दै छ । प्राविधिक कार्यदलको बैठकपछि रोजगारी खुला हुने मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए ।
क्यापिटल नेपालसंग कुरा गर्दै राजदूत पाण्डेले भने,‘प्राविधिक कार्यदलको बैठकले मलेसियाको गाँठो फुकाउने छ । सबै कुरा मिलिसकेको छ । मेडिकललाई मिलाउन बैठक बस्न लागेको हो ।’ रोजगारी खुलाउन अब ढिला गर्नु नुहुने र खोल्नुको विकल्प नरहेको उनले स्पष्ट पारे ।
पहिलादेखि मलेशियाले स्वीकृत दिएका ३६ ओटा मेडिकल संस्थाले अनुमति पाउने र नेपाल सरकारले सूचीकृत गरेका १२२ ओटा स्वास्थ्य संस्थामध्ये बाँकीलाई विस्तारै थप्दै जाने विषयमा सहमति हुने उनले बताए ।
भीएलएन, ओएससी र आईएसीमा कुनै विवाद नभएको र रोजगारदाता कम्पनीले पैसा तिर्ने भएकाले समस्या नभएको राजदूत पाण्डले स्पष्ट पारे । स्वास्थ्य परीक्षण संस्थामा कुरा अडकिएकाले अबको संयुक्त बैठकले यसको गाँठो फुकाउने उनले जानकारी दिए । रोजगारी खुलेपछि राजदूतावासमा चाप पर्ने उनको भनाइ छ ।
भीएलएन, ओएससी, आईएससी र बायोमेट्रिकलगायत विभिन्न स्वास्थ्य संस्थाहरुले कामदारहरुबाट बढी रकम लिएको भन्दै श्रममन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते हचुवाका भर ती स्वास्थ्यलाई कारबाहीको निर्णय गरेपछि १५ महिनादेखि नेपालबाट मलेशियामा कामदार पठाउने काम अवरुद्ध भएको हो । सरकारले कारबाही गरेर मुद्दा चलाए पनि अदालतबाट भीएलएनले अदालतबाट सफाइ पाइसकेको छ ।
नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव दुई जना, परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक/एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने राजदूत पाण्डेले बताए ।
हाल मलेसियामा ४ लाखको हारहारीमा नेपाली कामदार छन् । मलेशियाले सुरक्षा गार्डमा नेपालीलाई मात्र लिने गरेको छ । अहिले कामदार अभाव भएर मलेशियाले छिटोभन्दा छिटो रोजगारी खुलाउन दबाव दिइरहेको छ ।
औपचारिक रुपमा बन्द भएपछि हाल दैनिक ६०० कामदार विभिन्न च्यानलको प्रयोग गरेर मलेसिया आइरहेको उनले बताए । ‘कामदार आपूर्ति रोकिएको छैन’, उनले भने, ‘कुन माध्यमबाट आइरहेको भन्ने म खुलाउँदिन ।
प्लान्टेसनमा ३८ हजार कामदार माग
मलेशियाले रुखको प्लान्टेसन र प्लाइउडका लागि ३८ हजार कामदारको माग गरेको छ । पाम आयलको बिरुवा रोप्ने हुर्काउने, जंगल फँडानी र फल टिप्नका लागि कामदारको माग भएको राजदूत पाण्डेले बताए ।
उनले मलेसियाको सारवाकबाट कामदार माग आएको जानकारी दिए । यस्तै प्लाइउड कारखानाका लागि पनि कामको माग भएको छ ।