काठमाडौं । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको निर्देशनले सेयर बजार प्रभावित बनेको छ । केन्द्रीय बैंकले सेयर धितोको जोखिम भार १५० प्रतिशत पुर्याएपछि त्यसको प्रत्यक्ष असर बिहीबारको सेयर बजारमा परेको छ । यद्यपि, यसको समयसीमा असारमसान्तसम्म केन्द्रीय बैंकले दिएको छ ।
केन्द्रीय बैंकले सेयर बजारलाई अनुत्पादक क्षेत्रको सूचीमा राखेर जोखिम भार १५० प्रतिशत पुर्याएपछि यो क्षेत्रमा कर्जा प्रवाह न्यून हुने र व्याजदर पनि बढ्ने भएपछि त्यसको असर सेयर बजारमा परेको हो ।
त्यसैगरी, बिहीबार अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने संकेत थियो । तर, शुक्रबारसम्मका लागि प्रतिनिधिसभा नै स्थगित भएपछि लगानीकर्तामा कतै एमसीसी पास हुँदैन कि भन्ने चिन्ता बढेको छ । त्यसले पनि सेयर बजारलाई प्रभावित पारेको हो ।
बिहीबार दुईवटा कारणबाट सेयर बजार घटेको देखिन्छ । केन्द्रीय बैंकले सेयर बजारप्रति नकारात्मक धारणा बनाएको र एमसीसी पास नहुने सम्भावना बढेपछि बजारमा ठूलो अंकले गिरावट आएको देखिन्छ ।
एकातिर बैंकले सेयर धितो कर्जा प्रवाह गर्नै रोकेका छन् । यदि कर्जा दिइहाले पनि चर्को व्याजदर लिन्छन् । त्यसले पनि सेयर बजार प्रभावित बन्छ ।
एकातिर अहिले बैंकसँग लगानी योग्य रकम नै छैन । उनीहरु उसै पनि लगानी गर्न सक्दैनन् । तर, केन्द्रीय बैंकले नीतिगत रुपमै भार प्रतिशत बढाइदिए पछि त्यसको मनोवैज्ञानिक असर परेको हो ।
साताको अन्तिम दिन सेयर बजारले २७०० को बेसलाइन पनि तोडेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९९ अंकले घटेर २६६१.४४ बिन्दुमा आइपुगेको छ । यसदिन हिमालयन जनरल इन्स्योरेन्सको मूल्य ९.९१ प्रतिशतले बढेको छ । साताको अन्तिम दिन बिहीबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।