गलकोट । लामो समयदेखि कालोपत्रेको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रेसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् ।
अहिले विमानस्थल धावनमार्ग धमाधम कालोपत्रे जारी छ । २०७७ फागुनमै कालोपत्रे सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।
यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रेको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।
विभिन्न समस्याका बाबजुत पनि विमानस्थलको धावनमार्गको कालोपत्रेले तीब्रता पाएको निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिए ।
कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बने पनि अहिले कालोपत्रे कामले तिब्रता पाएको उनले जानकारीदिए । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो ।
मौसम र प्रविधिले साथ दिएमा एक हप्तामै कालोपत्रेको काम काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिए। विमानस्थल कालोपत्रेको ठेक्का चैत मसान्त सम्ममात्रै रहेकोे प्राधिकरणले जनाएको छ । कालोपत्रे निर्माणसंगै विमानस्थलको काम सम्पन्न हुँनेछ ।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेको र त्यसको फलस्वरुप अहिले विमानस्थल धमाधम कालोपत्रे भइरहेको र जहाज चलाउन अब समस्या नहुँने बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए। बागलुङ–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।
कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।
नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरे पनि आवश्यक पूर्वाधार र धावमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।