काठमाडौं । रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि त्यसको असर नेपालको खाने तेलमा पनि पर्ने भएको छ । तेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सनफ्लावरको दान युक्रेनबाट आयात हुने गरेको छ ।
तर, रसिया–युक्रेन युद्धका कारण पछिल्लो एक महिनायता भने तोरी र सनफ्लावरको दाना आयात हुन सकेको छैन । उद्योगहरुले युक्रेनबाट तोरी र सनफ्लावरको दाना आयात गरेर नेपालमा प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएका छन् ।
बेलारुस र रसियाले मृत सागर (डेथ सी) मा फेब्रुरी पहिलो सातादेखि नै सैन्य अभ्यास सुरु गर्दा युक्रेनबाट कच्चा पदार्थ आयात हुन नसकेको नेपाल वनस्पति घिउ तथा तेल उत्पादक संघले जनाएको छ ।
संघले आफूसँग भएको कच्चा पदार्थको स्टकले १५ देखि २० दिनको माग मात्रै धान्ने बताएको छ । उद्योगहरुले युक्रेनबाट तोरी र सनफ्लावरको दाना आयात गरेर नेपालमा प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएका छन् ।
युक्रेनबाट नेपालले ४ दर्जनभन्दा बढी किसिमका वस्तु आयात गर्ने गरेको भए पनि सबैभन्दा बढी खाने तेलको कच्चा पदार्थ आयात गर्ने गरेको छ ।
चालू आर्थिक वर्षको ७ महिनासम्म मात्रै १० अर्ब ३४ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कच्चा भटमास, कच्चा तोरी र सनफ्लावरको दाना आयात भएको छ ।
गत आर्थिक वर्षमा युक्रेनबाट १६ अर्ब रुपैयाँभन्दा बढीको भटमास, कच्चा तोरी र सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको थियो ।