काठमाडौं । बुद्ध एयरले हिजो साँझ थप एटीआर–७२ जहाज भित्र्याएको छ । कलसाइन नाइन–एन एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई २ साताभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाई भाडादर पनि स्वतः सस्तो हुन्छ । त्यहीअनुरुप बुद्धले ७२ सिटे जहाज भित्र्याएको हो ।
यससँगै बुध्द एयरको जहाज संख्या १६ पुगेको छ । जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन् ।
गत जनवरीदेखि अन्तर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । त्यस्तै नेपालमै ६ महिना अवधि बसाइँ गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ ।
सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुध्द एयरले विज्ञिप्तिमार्फत जनाएको छ ।
नेपाली यात्रुहरुका लागि पनि बुध्द एयरले हवाई उडानलाई सहज र सरल बनाएको छ । आन्तरिकतर्फ हवाई यात्रा समग्र रुपमै सस्तिएको छ ।
‘बुध्द एयर निरन्तर हवाई यात्रालाई सबैको पहुँच बनाएका छन् र यसलाई अझ सहज बनाउन प्रतिवद्ध रहेको बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने समेत बताए ।
बुद्धले देशका विभिन्न गन्तव्यमार्फत पोखरामा सीधा उडान भरिरहेको छ । नेपालगन्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान सुरु गर्न लागेको छ ।
त्यस्तै मार्च १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय पर्यटकहरु नेपाल आउन आतुर रहेका तथा पीसीआर परीक्षण र झन्झिटिलो फारमहरुलाई सहजीकरण गर्न पनि बुद्धले सम्बन्धित निकायहरुलाई अनुरोध गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।