काठमाडौं । निर्माणधिन काठमाडौंं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि ४८ अर्ब ८४ करोड रुपैयाँ बजेट माग गरेको छ । दोस्रो त्रैमासिक प्रगति विवरण (मध्यकालिन खर्च समीक्षा) सार्वजनिक गर्दै फास्ट ट्रयाक आयोजनाले आव ०७९/०८० का लागि उक्त बजेट माग गरेको हो ।
त्यस्तै आव ०८०/०८१ मा ४३ अर्ब ४३ करोड र आव ०८१/०८२ को लागि ३९ अर्ब २ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आयोजनाले जनाएको छ । समग्रमा द्रुतमार्ग निर्माण सम्पन्न गर्न आगामी ३ आर्थिक वर्ष (०८१/०८२)मा अझै १ खर्ब ३१ अर्ब २९ करोड रुपैयाँ आवश्यक पर्ने आयोजनाको अनुमान छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको कुल अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ ।
जसमध्ये हालसम्म आयोजनाको कुल वित्तीय खर्च २५ अर्ब ४० करोड रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७९०८० का लागि विभिन्न मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको छ । सोहिअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि बजेटको सिलिङ पुगिसकेको छ । आर्थिक वर्ष ०७३/०७४ बाट सुरु भएको फास्ट ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको हो ।
आयोजना प्रमुख तथा सेनाका सहायक रथी विकास पोखरेलका अनुसार आयोजनाको निर्माण कार्य लक्षित समयमा सम्पन्न गर्न आव ०७९०८० मा ४८ अर्ब ८४ करोड रुपैयाँ रकम आवश्यक पर्छ ।
भौतिक मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सेनाको मागमा भौतिक मन्त्रालय सकरात्मक भएको बताएका छन् । सेनाको बजेट मागको विषयमा बोल्दै सचिव श्रेष्ठले भने, ‘हामी फास्ट ट्रयाक समयमै सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छौं । तर, अर्थले सीमा तोकेर सिलिङ पठाएको हुन्छ त्यसैले मागअनुसार बजेट दिन कतिको सम्भावना रहन्छ हेर्नैपर्छ ।’
फास्ट ट्रयाक निर्माणको म्याद आव ०८०/०८१ (२०८१ पुस)सम्म रहेको छ । निर्माण कार्य सुरु भएदेखि चालु आवको पुससम्म फास्ट ट्रयाकको भौतिक प्रगति १६.९० प्रतिशत र वित्तीय प्रगति १५.३१ प्रतिशत भएको आयोजनाले जनाएको छ । साथै सेनाले आव ०७८०७९ को अन्त्यसम्ममा २१.२० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य राखेको छ ।
चालु आवमा फास्ट ट्रयाक निर्माणको लागि पुँजीगततर्फ ८ अर्ब ८४ करोड ४ लाख र चालुतर्फ ८ करोड ७५ लाख रुपैयाँ गरी कुल ८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
ललितपुरको खोकनाबाट सुरु भएर बारा जिल्लाको निजगढसम्म पुग्ने फास्ट ट्रयाक ७२.५ किलो मिटर लम्बाई र ४ लेनको हुनेछ । अन्य बाटो प्रयोग गर्दा सामान्यतया काठमाडौं–निजगढको यात्रा गर्न १० घण्टा २० मिनेट लाग्नेमा फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि २ घण्टा २० मिनेटमा यात्रा गर्न सकिने छ ।