काठमाडौं ट्रिएनाले२०७७ चौथो संस्करण मिति २०७८ माघ २८ गते देखि चैत १७ सम्म आयोजना गर्ने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै आयोजक टिम, कलाकार, अवलोकनकर्ता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकहरुको स्वास्थ्य तथा सुरक्षालाई ध्यान दिँदै सम्पूर्ण महोत्सवका सरोकारवालाहरु जस्तै; साझेदार, कलाकार, सल्लाहकार र व्यवस्थापन समूह आदिसँगको छलफलपश्चात् २०७७ पुसमा हुने भनिएको ट्रिएनालेको नयाँ मिति निर्धारण गरिएको हो ।
ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रमहरु भर्चुअल र भौतिक दुवै किसिमबाट उपस्थिति जनाउन सकिने गरी, हाइब्रिड तरिकाले सञ्चालन गर्दैछ ।
गत माघ २८ गतेको भर्चुअल उद्घाटनमार्फत प्रारम्भ हुने काठमाडौं ट्रिएनाले २०७७ प्रत्यक्ष सहभागिता का लागि फाल्गुन १७ बाट सुरु हुनेछ । भिन्न–भिन्न विषयवस्तु समेट्ने गरी क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुरशाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी ५ स्थानहरुमा प्रदर्शित हुनेछन् ।
यस्तै ट्रिएनाले २०७७ को आयोजना र संचालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण गरेको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जानकारी दिएको छ ।
नेपालको समकालीन कलाका साथै फाउन्डेसनका लागि समेत यो साझेदारी एक ऐतिहासिक उपलब्धि हुने फाउन्डेनसनको बुझाइ छ । यो नेपालको कला÷संस्कृतिको विकास तथा प्रवर्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुवातको रुपमा हुनेछ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौँ अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको महत्वपूर्ण कदम हो । अकल्पनीय विश्वव्यापी चुनौतीको सामना गर्नुपरेको यस अवस्थामा यो साझेदारी हाम्रो विविधतापूर्ण समाजको उत्थानका लागि संस्कृतिले खेलेको भूमिका प्रतिको आभारोक्ति हो । यसका साथै, यो साझेदारी अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिती विस्तार गर्ने सम्भावनाको प्रमाण पनि हो ।
यस सहकार्यका बारे निर्देशक संगीता थापा भन्छन्– ‘नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरु प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न यस सम्झौताले थप अवसर प्रदान गर्ने छ । वस्तुगत, सुरक्षित र समावेशी ट्रिएनालेले नेपालको कला क्षेत्रमा दिगो तथा सकारात्मक प्रभाव पार्न सक्छ । यस्तो कार्यक्रम प्रस्तुत गर्नका लागि हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग फलदायी सहकारिताको अपेक्षा गर्दछौँ ।’
ट्रिएनालेको चौथो संस्करणको क्यरुेटोरियल टिममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक तथा क्यरुेटर रहनुभएका कस्मिन कोस्टिनास र सह–क्यरुेटरद्वय हितमान गुरूङ र शीलाशा राजभण्डारी छन् । संस्थापक अध्यक्षका रुपमा संगीता थापा र कार्यक्रम निर्देशक शरारे बज्राचार्यले दिशानिर्देश गर्नुहुने ट्रिएनाले उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र युरोकेन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही हुने विमर्शले निर्देशित हुनेछ । अनगिन्ती कलात्मक, सामाजिक तथा सामुहिक कथा र संकथनको मिलनबिन्दुका रुपमा रहेको यो गौरवपूर्ण कार्यक्रम नेपाल मात्र नभई विश्वका ४० भन्दा बढी देशका स्थानीय र सिमान्तकृत कलापरम्पराका कलाकृति प्रदर्शनको थलोसमेत हो ।
ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना हुन लागेको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२० मा गार्डन अफ सिजन्स नामक प्रदर्शनी हंगकंगमा सञ्चालन भइसकेको छ ।