काठमाडौं । पूर्ण सरकारी स्वामित्वको जीवन बिमा कम्पनी राष्ट्रिय बिमा संस्थानलाई आफ्नो अस्तित्व जोगाउन नै हम्मेहम्मे परेको छ ।
देशकै जेठो जीवन बिमा कम्पनी भए पनि अन्य निजी क्षेत्रका बिमाको तुलनामा यो संस्थान निकै पछि परेको छ ।
संस्थान ५५ औं वर्षमा प्रवेश गरेको छ । यद्यपि प्रतिस्पर्धी बिमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न नसकेको अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।
सरकारी स्वामित्वको संस्था भएका नाताले बजारको माग र समय सुहाउँदो नयाँ प्रडक्ट, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिस्पर्धी संस्था बनाउनुपर्ने मरासिनीको भनाइ छ ।
‘२०२४ सालमा पुर्खाहरुले जुन सोचका साथ कम्पनी स्थापना भएको थियो, त्यही सोचलाई निरन्तरता दिने अभिभारा संस्थानमा आएको भन्दै चुनौतीबीच आफ्नो अस्तित्व देखाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासअनुरुप बिमा सेवाको विकास, विस्तार तथा आकर्षक बिमा योजना, सेवाको विविधीकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकौशलतामा वृद्धि, आर्थिक अनुशासन, व्यावसायिक कार्ययोजनाको अवलम्बन गर्न पनि उनले आग्रह गरेका छन् ।
त्यस्तै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा विश्वसनीयताको बजार भएको भन्दै संस्थानले आफ्नो विगतका कार्यप्रगतिको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
निर्जीवन बिमा व्यवसायबाट सेवा प्रारम्भ गरेको संस्थानले पछि जीवन/निर्जीवन दुवै बिमा हुँदै हाल जीवन बिमा व्यवसाय मात्रै गरिरहेको छ ।
चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकसम्म जीवन बिमा कोषमा रहेको जीवन बिमाप्रदायकहरुको ४ खर्ब ५२ अर्ब ७९ करोडमध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै बिमा शुल्क ७० अर्ब ९१ करोडमध्ये संस्थानको ६ अर्ब ५ करोड छ । यसरी हेर्दा कुल बिमा कोष र बिमा शुल्क संकलनमा संस्थानको हिस्सा करिब ८.५ प्रतिशत रहेको छ ।
त्यसै गरी संस्थानमा हाल कायम रहेको कुल बिमालेख संख्या ६ लाख ३९ हजार रहेको छ ।