काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले ठूला पूर्वाधार आयोजनामा लगानी जुटाउन शतप्रतिशत ऋणपत्र (डिबेन्चर) जारी गर्न पाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गरी निफ्रालाई ऋणपत्र निष्कासन गर्न पाउने व्यवस्था गरेको हो । निफ्राले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति मागेको छ ।
सञ्चित नोक्सानी बाँकी नरहेको र साधारण सेयर जारी गरी धितोपत्र विनिमय बजारमा सुचीकृत भइ कारोबार भएको हुनुपर्ने सर्त राखिएको छ । निफ्राले उल्लेखनिय नाफा आर्जन गरिरहेको तथा गत वर्ष नै सर्वसाधारणका लागि सेयर जारी गरिसकेकाले राष्ट्र बैंकको सबै सर्तहरु पुरा भएकाले निफ्रालाई डिवेञ्चर जारी गर्ने बाटो खुलेको हो । बैंकले सम्वन्धीत निकायको स्वीकृति लिई ऊर्जा ऋणपत्र जारी गर्नुपर्ने छ ।
ऊर्जा ऋणपत्र जारी गरि संकलन गरिएको रकमबाट भएको लगानी ऊर्जा परियोजनाको विवरणसमेत सार्जजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनासम्म निफ्राले जलविद्युत, पर्यटन र उद्योगलगायत अन्य क्षेत्रमा २३ अर्ब ५७ करोड रुपैयाँ लगानीको सम्झौता गरेको छ । हालसम्म बैंकले ८ अर्ब १३ करोड रुपैयाँ विभिन्न पूर्वाधार आयोजनामा लगानी गरिसकेको छ । बैंकले ३३ करोड ७७ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ ।
यस्तै कार्यतालिकाअनुसार लगानी गर्ने भएको बैंकलाई थप पुँजी आवश्यक परेकाे छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीहरुलाई ८.४२ बोनस सेयर दिएपछि चुक्ता पुँजी बढेर २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ ।
आर्थिक रुपमा संभाव्य देखिएको सहरी पूर्वाधार, औद्योगिक पूर्वाधार र ऊर्जाका परियोजनाहरुमा छलफल अघि बढाएको बैंकले जनाएको छ । निफ्राले सिजी सिमेन्ट, जलविद्युत आयोजना स्काइवाक टावर निर्माण लगायत एक दर्जन बढी परियोजनामा ऋण लगानी सम्झौता गरेको छ । यस्तै वेतन कर्णाली, मुक्तिनाथ केबलकार र विद्युत व्यापार कम्पनीलगायतमा लगानीको तयारी छ ।
पछिल्लो समय बैंकले सहरी पूर्वाधार, औद्योगिक पूर्वाधर र ऊर्जाका परियोजनामा छलफल अघि बढाएको छ । बैंकसँग भएको सबै पुँजी आयोजनामा लगानी गर्नका लागि सम्झौता भइसकेको छ ।
नयाँ र प्रस्तावित आयोजनाहरुमा थप लगानी जुटाउन अहिले बण्ड मात्र वित्तीय औजार भएकाले निष्कासन गर्न लागेको छ । विदेशबाट ऋण ल्याउन समय लाग्ने भएकाले नेपालमै बण्ड निष्कासन गरेर लगानी जुटाउने तयारी भएको निफ्राको भनाई छ ।