काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकका अधिकारी, बैंकर्स र अर्थविद्हरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नरको आलोचना गरिएको छ । मौद्रिक नीतिको लक्ष्यभन्दा बढी कर्जा प्रवाह गर्दा पनि राष्ट्र बैंक चुप लागेर बसेको भन्दै विज्ञहरुले राष्ट्र बैंकको आलोचना गरेका छन् ।
१९ प्रतिशत कर्जा विस्तार गर्ने मौद्रिक नीतिको लक्ष्य भए पनि ३३ प्रतिशतसम्म बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा पनि राष्ट्र बैंक मौन रहनुले गभर्नरमा अर्थतन्त्रसम्बन्धी ज्ञानको अभाव भएको आरोप अर्थविद् अच्युत वाग्लेले लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले समेत अर्थतन्त्रका बारेमा जानकार नरहेको आरोप लगाए ।
उनले विज्ञहरुले समेत अर्थतन्त्रका बारेमा सुझाव नदिएको र बैंक वित्तीय संस्था निक्षेप संकलन गर्ने उपायको खोजी गर्नेभन्दा पनि राष्ट्र बैंकको स्थायी तरलता सुविधामा परनिर्भर बन्दा अर्थतन्त्रमा समस्या आएको बताए ।
बैंकिङ प्रणालीमा तरलता अभाव हुनु र ब्याजदर बढ्नुमा राष्ट्र बैंकलाई जिम्मेवार रहेको आरोप अर्का अर्थविद् पोषराज पाण्डेले लगाएका छन् । लक्ष्यभन्दा बढी कर्जा प्रवाह हुनु, एनपीए लेभल वास्तविक नहुनु, तरलता अभाव हुनु र ब्याजदर बढ्नुमा राष्ट्र बैंकको कम्जोर नियामकीय भुमिका कारण भएको बताए ।
उनले ब्याजदर कोरिडोरका सिमाहरु २ प्रतिशत विन्दुले बढाउनुले पनि राष्ट्र बैंकले २ प्रतिशत बिन्दुले नै ब्याजदर बढाउने सन्देश दिइएको उनले बताए । राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अनौपचारिक अर्थतन्त्रलाई राजनीतिकरुप नै संरक्षण गर्ने काम भइरहेको बताएका थिए ।
उपभोग खर्च १ खर्बबाट बढेर ७ खर्ब पुगेकाले तरलतामा दबाब परेको उनले बताए । सरकारले पुँजीगत खर्च बढाउन नसक्दा त्यसको असर बैंकिङ प्रणालीमा परेको उनको भनाई थियो ।चुनावमा अनौपचारिक च्यानल मार्फत प्रणालीमा आउन सक्ने भएपनि राजनीतिक अन्योलता बढ्नुले अर्थतन्त्रमा थप चुनौति थपेको उनले बताए ।
एमसीसी विवादले सत्ता गठवन्धनमा टुट्न सक्ने खतरा र सर्वोच्च अदालतका प्रधानन्यायाधीसमाथिको महाअभियोग संसदमा दर्ता र प्रतिपक्ष दलको अडान जस्ता राजनीतिक अस्थिरताले चुनावमा प्रभाव पार्न सक्नेतर्फ उनले संकेत गरेका थिए । त्यसको प्रभावमा नेपालको अर्थतन्त्रमा पर्न सक्ने बताएका हुन ।
बजारमा कर्जाको माग अध्याधिक रहेकाले तरलता अभावको समस्या तत्काल हल नहुने ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले बताएका छन् । उनले आगामी असार मसान्तसम्म ब्याजदर १५ देखि १८ प्रतिशतसम्म पुग्न सक्ने बताउँदै अब ब्याजदर एकल बिन्दुमा नरहने बताएका थिए ।