काठमाडौं । नेपाल-भारतबीच विद्युत् व्यापार गरिने चर्चासँगै फेरि एक पटक जलविद्युत् समूहले सेयर बजारलाई नियन्त्रणमा लिएको छ । समग्र बजार घटिरहँदा जलविद्युत् समूहमा भने सकारात्मक भाव देखिएको छ । उच्च २० मूल्य वृद्धिमा जलविद्युत् समूहकै बर्चश्व (१७ कम्पनी) छ ।
डिबेञ्चर, म्युचुअल फण्डबाहेक ४८ कम्पनीको मूल्य बढेको छ । त्यसमा जलविद्युतका २ कम्पनी दिव्यश्वरी र युनाइटेड इदी मर्दीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने घलेम्दी पनि सर्किट लेवलमा पुगेको छ । यसले जलविद्युत् समूहमा लगानीकर्ताको अझ आकर्षण देखाएको छ । अन्य समूह सूचकहरु घटिरहँदा जलविद्युत् समूह १.०७ प्रतिशतले बढेको छ ।
त्यस्तै म्युचुअल फण्ड समूह पनि ०.८४ प्रतिशतले बढेको छ । खासगरी, संसदमा टेबल भएको अमेरिकी सहयोग परियाेजना एमसीसी पारित हुँदा निकट भविष्यमै जलविद्युत् क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र भारतसँग दई देशीय विद्युत व्यापारका लागि सकारात्मक छलफल चलिरहेको स्थितिले लगानीकर्ता जलविद्युतमा झुम्मिएका हुन् ।
यद्यपि, कतिपय कम्पनीको सेयर मूल्यमा चलखेल, कर्नरिङ भएको पनि हुन सक्छ । तर, केन्द्रीय बैंकको मौद्रिक नीति समीक्षापछिको निर्देशन नआउँदा बैंक, विकास बैंक, वित्त र लघुवित्त संस्थाहरुको सेयर मूल्य घटिरहेको छ । गत साता भएको मौद्रिक नीति समीक्षापछि नै वित्तीय समूह सूचकहरु ओरालो लाग्ने र जलविद्युत् समूहले सकारात्मक बाटो समाउँदै आएको छ ।
वित्तीय समूहभित्र पनि कर्नरिङ गर्न सकिने कम सेयर सूचीकृत भएका र हकप्रद सेयर बिक्री गर्ने पक्षमा रहेका वित्तीय संस्थाहरुको मूल्य बढेको देखिन्छ ।
बुधबारै पनि जलविद्युत समूहपछि सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैक ३.३८ प्रतिशत छ । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा आयातमा थप कडाइ गर्ने, मार्जिन कर्जाको जोखिमको भार पुनरावलोकन गर्ने, प्लटिङसम्बन्धी जोखिम भार पुनरावलोकन गर्ने जस्ता नीति अघि सारेको थियो । तर, ती व्यवस्थालाई कसरी कार्यान्वयन गर्ने भनि निर्णय कार्यान्वयनका लागि निर्देशन नदिएकाले वित्तीय क्षेत्रका कम्पनीहरु पर्ख र हेरको अवस्थामा छन् । यसले बजार घटाउन मद्दत गरिरहेको छ ।
मंगलबार १७ अंकले बढेको बजार सूचक बुधबार १५.५ अंकले घटेर २७२०.४३ बिन्दुमा बसेको छ । यद्यपि, बुधबार सुरुमै बजार बढ्ने छनक दिएको थियो । मंगलबार २७३५ मा रोकिएको बजार बुधबार आघा घण्टाभित्र २७४७ सम्म चढे पनि त्यहाँबाट बजार फर्कियो र अन्तत घटेर कारोबार रोकियो ।
बजार घटेसँगै बुधबार कारोबार रकममा पनि केही कमी आएको छ । मंगलबार ३ अर्ब २० करोड कारोबार भएकोमा बुधबार ३ अर्ब १३ करोडमा खुम्चिएको छ । बुधबार १२८ कम्पनीको सेयर मूल्य घट्दा सबैभन्दा बढी नेपाल फाइनान्सको ३.६२ प्रतिशतले घटेको छ । उता सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको १९ करोड ३७ लाख रुपैयाँ बराबर भएको छ ।
बिहीबार प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुनेछ । सरकारले एमसीसी पारित गर्ने गरी रणनीति बनाइरहेको छ । र, अर्कोतिर नेपाल भारतबीच विद्युत व्यापारका लागि सचिवस्तरीय वार्ता चलिरहेकाले त्यसको निर्णयले बिहीबारको बजार प्रभावित हुनेछ ।
सकारात्मक निर्णय भएमा जलविद्युत क्षेत्रमा थप चमक आउन सक्छ । राष्ट्र बैंकको निर्देशन आएपछि वित्तीय क्षेत्रका कम्पनीहरुले पनि केही हदसम्म आफ्नो बाटो क्लियर गर्ने छन् । जसको प्रभाव बजारमा देखिनेछ ।