काठमाडौं । जहाजमा यात्राका लागि पासपोर्ट र टिकट अनिवार्य चाहिन्छ । टिकटकै आधारमा बोर्डिङ पास बन्छ र त्यह आधारमा जहाजभित्र जान पाइन्छ । तर, गत सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजभित्र पासपोर्ट र टिकटबिनै एक यात्रु पुगेपछि विमानस्थलको सुरक्षाप्रति प्रश्न उठेको छ ।
टिकट चेकजाँचमा कडाइ गरेको विमानस्थल प्रशासनले ती व्यक्ति कसरी जहाजभित्र पुगे भनेर अहिले अनुसन्धान सुरु गरेका छन् । केही साताअघि मात्र विमानस्थलमा सरुवा भएर गएका नयाँ एसएसपी भिमप्रसाद ढकाल गएपछि आन्तरिक उडानमा अनिवार्य रुपमा प्रिन्टेट टिकटको व्यवस्था गराएपनि अन्तराष्ट्रिय उडान तर्फ भने उनको सुरक्षा संयन्त्र प्रतिनै आशंक्का गर्न थालेका छन् ।
गत सोमबार राति १० बजे दुबई उड्न लागेको जहाजभित्र शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा भेटेपछि रौतहटका असरफ आलमलाई प्रहरीको जिम्मा लगाएका छन् । जहाजमा आएका उनको गतिविधि प्रतिशंक्का लागेपछि निगमका कर्मचारीहरुले उनीसँग आवश्यक कागजपत्र मागेका थिए ।
उनले कुनै कागजपत्र नदेखाएपछि उनलाई विमानस्थलका सुरक्षाकर्मीहरुलाई जिम्मा लगाएर थप अनुसन्धानका लागि पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
उनका अनुसार ती व्यक्ति आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार नाघेर त्यहाँ पुगेको देखिएको बताए । सीसीटिभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको जानकारी दिँदै बाकी अनुसन्धान प्रहरीले गरिरहेको बताए । आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् ।
कुनै व्यक्ति यसरी विमानस्थलभित्र त्यसमा पनि जहाजसम्म पुग्नु गम्भीर लापरबाही भएको भन्दै सुरक्षा प्रतिनै थप चुनौती थपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजन पोखरेलको भनाइ छ । ‘विमानस्थलमा भएको यो घटना गम्भीर हो, पूर्वमहानिर्देशक पोखरेलले भने, यस्ता घटनाहरु थप नहुनका लागि गम्भीर भएर लाग्नुपर्छ ।’