काठमाडौं । सीजी टेलिकमलाई युनिफाइड लाइसेन्सको अनुमति दिने अन्तिम तयारी भइरहेको छ । यो तयारीसँगै कम्पनीले आफ्नो बजार उपस्थितिलाई पनि आक्रामक बनाउँदै लैजाने योजना छ ।
एक वर्षअघि सस्तो मूल्यमा ठूलो प्याकेजको इन्टरनेट ल्याएर फिक्स्ड ब्रोडब्यान्डको बजारमा उथलपुथल पारेको सीजी टेलिकमको लाइसेन्सको पर्खाइ अहिले चौधरी ग्रुपलाई भन्दा आम उपभोक्तामा व्यग्र छ ।
दुई कम्पनीको वर्चश्व रहेको टेलिकम उद्योगमा सीजीको प्रवेशपछि सस्तो भ्वाइस र डेटा सेवा पाउने आम उपभोक्ताको आशा छ । सीजी टेलिकमको मुख्य जिम्मेवारी सम्हाल्दै आएका चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले पनि बारम्बार सार्वजनिक वृत्त तथा आम सञ्चारमाध्यमहरूमाझ यो आशा बाँड्दै आएका छन् ।
अब निकट भविष्यमा युनिफाइड लाइसेन्स पाउने सरकारबाट हरियो झन्डा देखेपछि अहिले सीजीको व्यवस्थापनले आफ्नो तयारीलाई अझ तीव्रतर पारेको छ । सीजी टेलिकमले थापाथलीको ट्रेड टावरमा २०१९ मै कार्यालय तयार गरी सम्पूर्ण ‘सेटअप’ पूरा गरिसकेको छ । केही कर्मचारी पनि अहिले त्यहाँ कार्यरत छन् ।
अहिले सीजी टेलिकमको जिम्मेवारी सम्हाल्न नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) कसलाई ल्याउने भन्ने बारेमा छलफल चलिरहेको छ । यसअघि टर्कीबाट सीजी टेलिकमको नेतृत्व गर्न ल्याइएका सीईओ युनिफाइड लाइसेन्स नपाएर सेवा सञ्चालन गर्न नपाएपछि ६ महिनामै फिर्ता भएका थिए ।
युनिफाइड लाइसेन्स प्राप्त गर्ने बित्तिकै सेवा रोलआउट गर्न आफूहरू तयारी अवस्थामा रहेको चौधरी गु्रपका महाप्रवन्धक मधुसूदन पौडेल बताउँछन् । सेवा रोलआउट गर्न आवश्यक सम्पूर्ण उपकरणहरूको आयात गर्न एक वर्षअघि नै सीजी टेलिकमले चिनियाँ कम्पनी ह्वावेसँग सम्झौता गरिसकेको छ ।
‘अहिले हामीले लाइसेन्स नपाई केही गर्न र ल्याउन पाउँदैनौं,’ पौडेलले भने, ‘तर टेलिकम सञ्चालन गर्न चाहिने सम्पूर्ण उपकरण मगाउन धेरै अगाडिदेखि ह्वावेसँग सम्झौता गरिसकेका छौं, । हाम्रो सप्लायरहरू तयारी अवस्थामा छन् । लाइसेन्स पाएपछि त एक ‘क्लिक’मा हाम्रो सम्पूर्ण कुरा आयात र अनबोर्ड हुन्छ । मानसिक रूपमा अब पूर्णरूपमा तयार र ढुक्क छौं । प्रक्रिया सबै आ–आफ्ना ठाउँमा छन् । सीईओ नियुक्तिको विषय पनि प्रक्रियामै छ ।’
सीजी टेलिकमको पृष्ठभूमिका सबै तयारी भइसकेको र अनुमतिको मात्र पर्खाइ रहेको पौडेलले बताए । सीजी टेलिकमले सरकारबाट टेलिकम सेवा सञ्चालनको अनुमति पाएपछि निःशुल्क भ्वाइस सेवा र अहिलेको प्रचलित मूल्यको मोबाइल डेटाभन्दा ५० प्रतिशत कम शुल्कमा डेटा सेवा उपलब्ध गराउने बताउँदै आएको छ ।
सीजीले पत्रकार सम्मेलन गरेरै यी सुविधाहरूका बारेमा बारम्बार बताउँदै आएको हो । लाइसेन्स पाउने सुनिश्चित हुने देखिँदै गर्दा सीजीेले उपभोक्ताको अपेक्षा र आफ्नो बोली आफूलाई स्मरण रहेको बताएको छ ।
‘यो कुरा हामीले तीन वर्ष अघिको सन्दर्भमा भनेका हौं । तर, हामी त्यसमै किन रोकिने त्योभन्दा लचिलो पनि हुन सक्छौं । अहिले केही भन्न सकिने अवस्था छैन । यो हाम्रो बिजनेस तथा रणनीतिक योजना नै हो, तर नियामक र प्रविधिले कतिको सहयोग गर्छ यी सबैसँग जोडिएर आउने कुरा हो । तर, गुणस्तर र मूल्यमा अरूभन्दा फरक नहुने हो भने हामी आउनुको कुनै तात्पर्य छैन र हामीले यो कुरा बुझेका छौं ।’
लाइसेन्ससँगै आउने सर्त र प्राधिकरणको निर्देशिकामा यी कुरा निर्धारण हुने तर सबै अनुकूल रहे योभन्दा लचिलोसमेत बन्न सक्ने संकेत गर्दै तत्काल केही भन्न नसकिने सीजीले बताएको छ ।
सीजीले सुरुवातदेखि नै पछिल्लो पुस्ताको फाइभजीमा सेवा दिने बताउँदै आए पनि हालसम्म नेपाल टेलिकमलाई परीक्षण सेवाबाहेक एनसेललगायत कुनै पनि टेलिकम कम्पनीलाई फाइभजीको अनुमति नभएको हुँदा फाइभजी सेवाको विस्तारमै भने अहिले अपरेटरहरू अन्योलमै छन् ।
‘अहिले लाइसेन्स नै छैन यसैले कुनबाट गर्ने भन्ने तय छैन । प्रविधि यति चाँडो परिवर्तन भइरहेको छ कि भोलीको दिनमा कुन सेवाबाट सुरु गर्ने भन्ने हामी अहिले भन्न सक्ने अवस्थामै छैनौं ।’ सीजी टेलिकमका अधिकारीले भने, ‘लेटेस्ट प्रविधिमा आउनु त स्वाभाविक चाहना र तयारी हुन्छ तर सरकारको नीतिले के निर्देशिका दिन्छ त्यसलाई हेरेर गर्नपर्छ अहिले भन्न सक्ने अवस्था छैन ।’
हालसम्म सीजी टेलिकमले एसटीएमदेखिको बक्यौता तथा सम्पूर्ण दायित्वसहित कुल ७० करोड रुपैयाँ तिरिसकेका छ ।