काठमाडौं । साझा यातायातले आउँदै चैतमा ३ ओटा विद्युतीय बस नेपाल ल्याउने भएको छ । चीनको नयान्जिङस्थित सीएचटीसीमा निर्माण भइरहेका ४० वटा बसमध्ये ३ वटा बस यही चैतभित्रमा नेपाल आइपुग्ने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताएका छन् । हाल कारखानामा बस उत्पादनको काम भइरहेको छ ।
प्रारम्भिक चरणमा भित्रिने ३ बसलाई काठमाडौंको सडकमा तथा रुटमा प्रशिक्षण गर्ने साझाको योजना छ । ती बसहरूको परीक्षण सफल भएपछि केही महिनामै अन्य ३७ ओटा बस पनि भित्र्याउने साझाको तयारी छ ।
चीनमा बनिरहेका यी बसहरूको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा माथि रहेको साझाले जनाएको छ । साझाले गत वर्ष चैतमा ४० वटा विद्युतीय बस खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
साझाले ल्याउन लागेका विद्युतीय बस २६ सिट क्षमतासहित अपांगमैत्री पनि हुनेछन् । ती बस एकपटक फुल चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिएर २०० किलोमिटर गुड्न सक्छन् ।
साझा यातायतले ललितपुरको पुल्चोकमा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । सामान्यतया ४० बसलाई २० वटा चार्जिङ स्टेसनको आवश्यकता पर्ने भए पनि हाल एउटा मात्रै निर्माणाधीन अवस्थामा छ । उक्त स्टेसनमा २० वटा चार्जर राखेर ४० वटा बस चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । यस्तै अन्य चार्जिङ स्टेसनहरुको निर्माण भने केही समयपछि सुरु हुनेछ ।
आगामी भदौसम्ममा उपत्यकाभित्र साझा यातायातका ४० वटै विद्युतीय बसहरु आइपुग्छन् । सम्झौतामा बससँगै आवश्यक चार्जरहरु खरिद गरी ५ वर्षसम्मको मर्मत सम्भारसमेत गर्ने उल्लेख छ ।
४० विद्युतीय बस र तिनलाई आवश्यक पर्ने २० वटा चार्जिङ स्टेसनका लागि करिब ४४ करोड ८६ लाख २६ हजार रुपैयाँ र विद्युतीय बस सञ्चालनका लागि आवश्यक तालिम तथा ५ वर्षको मर्मतसम्भार एवम् स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले सीएचटीसीलाई बुझाउनु पर्ने हुन्छ ।
हाल सञ्चालनमा रहेका डिजेल गाडीलाई पनि विद्युतीयमा परिवर्तन गर्ने योजना साझाले लिएको छ । अब विद्युतीय बस मात्रै खरिद गरेर सन् २०२५ भित्र साझाले आफ्ना सम्पूर्ण बसहरु प्रदूषणमैत्री बनाउनेसमेत जनाएको छ ।