काठमाडौं । सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १०० स्थानमा काठमाडौंको वसन्तपुरको नाम छुटेको छ ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यको बुँदा नं ११४ बमोजिम नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवम् बिकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ ओटा विश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तुप, स्वयम्भू स्तुप, पशुपतिनाथ मन्दिर र नारायणहिटी दरबार संग्रहालयलाई गन्तव्य सूचीमा समावेश गरिएको छ ।
नेपाल आएर काठमाडौंमा बस्ने पर्यटक वसन्तपुर पुग्छन् नै । यति मात्र होइन, यो विश्व सम्पदा क्षेत्र पनि हो ।
यस सूचीमा काठमाडौं जिल्लाका ७ ओटा ठाउँलाई स्थापित तथा प्रवर्धन गरिनु पर्ने ठाउँको सूचीमा राखिएको छ । यीमध्ये ४ ओटा महानगरपालिकाभित्रका स्थानहरु (बौद्ध, स्वयम्भू, पशुपति र नारायणहिटी संग्रहालय), बूढानीलकण्ठ मन्दिर, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल र चन्द्रागिरि समावेश छन् ।
यस सूचीमा (चन्द्रागिरि) नगरपालिकामा पर्ने दहचोकलाई नयाँ तथा बिकास गरिनुपर्ने गन्तव्यको सूचीमा राखिएको महानगरका प्रवक्ता इश्वरमान डङ्गोलले बताए ।
विश्व सम्पदा क्षेत्र वसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमा छुट्नु त्रुटि हो । प्रवक्ता डङ्गोलले भने, ‘हामी पर्यटनमन्त्रीलाई ध्यानाकर्षण गराउँछौं र सूचीकृत गराउन अनुरोध गर्छौं ।’ वसन्तपुरको अवलोकनबिना पर्यटकले काठमाडौंको मौलिकता थाहा नपाउने उनको भनाइ छ ।