काठमाडौं । मंगलबार दिनभरि करिब स्थिर जस्तै देखिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.४२ अंकले बढेर २७३५.९३ अंकमा पुगेको छ । सोमबार २७१८ रहेको नेप्से सूचक मंगलबार कारोबार खुलेदेखि नै बढ्ने संकेत गरेको थियो ।
तर, त्यो गति धिमा थियो । कारोबारको मध्य समयपछि सूचकले २७५० अंकलाई छोए पनि टिक्न भने सकेन । पछिल्लो डेढ घण्टा घटेरै कारोबार भयो । तर, त्यो घटाइ गुणात्मक भने हैन । समग्रमा मंगलबार जलविद्युत र वित्त कम्पनी तथा विकास बैंकको सेयर मूल्यमा केही वृद्धि देखिएको छ ।
उच्च २० मूल्यवृद्धिमा १३ वटा जलविद्युत कम्पनीको छ भने मैलुङखोला र युनाइटे इदीमर्दीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । ऋणपत्र र म्युचुअल फण्डबाहेक १३१ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार उत्पादन तथा प्रशोधनमूलक र लगानी समूह सूचक बाहेक अन्य सबै समूह सूचक बढेका छन् । तर, सबैभन्दा धेरै अन्य समूहको १.९८ प्रतिशत र फाइनान्स समूहको १.९१ प्रतिशतले मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकको गत साता मौद्रिक नीतिको मध्यावधि समीक्षापछि बजारमा नकारात्मक प्रभाव पर्ने आँकलनलाई निस्तेज पार्दै बजार स्थिर देखिएको छ । आइतबार करिब ४० अंकले घटेको बजार सोमबार २५ अंकले बढेको थियो । आइतबार घटेको बजार सोमबार र मंगलबारको वृद्धि ‘कभर’ गरेको छ । बजारमा नयाँ कुनै अस्त्र/हौवा नचलेसम्म ठूलो परिवर्तन देखिने संभावना कम छ ।
यद्यपि केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षाअनुसारको निर्देशन जारी नगरेकाले कस्तो प्रभाव पर्ने भन्ने यकिन छैन । अब राष्ट्र बैंकको निर्देशनपछि बजार केही चलायमान हुने देखिन्छ । यो साता नै केन्द्रीय बैंकको निर्देशन आउने संभावना छ । यद्यपि बजारमा राष्ट्र बैंकको निर्देशनको तत्काल प्रत्यक्ष प्रभाव नपर्ने भएकाले केही स्थिर रहने संभावना जीवितै छ ।
प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी कम्प्याट) पारित हुने वा नहुने सर्वोच्च अदालतबाट तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गर्न बाटो खोल्ने वा नखोल्ने जस्ता कारणमा तत्काल बजारको गति टिक्ने देखिन्छ । यो साताको ३ दिनको कारोबार हेर्दा अन्य कुनै घटना नभए बुधबार पनि बजार केही सकारात्मक हुने संभावना छ । तर, सुरुवातमा भने केही बिक्री दबाब हुनसक्छ ।
बजार बढ्दा मंगलबार कारोबार रकम पनि सोमबारको तुलनामा झिनो बढेको छ । सोमबार २ अर्ब ९० करोडको कारोबार भएकोमा मंगलबार ३ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल टेलिकमको २१ करोड ४९ लाख रुपैयाँको किनबेच भएको छ । मंगलबार ५० कम्पनीको सेयर मूल्य घट्दा सिभिल लघुवित्तको १.९६ प्रतिशतले घटेको छ ।