तनहुँ । व्यास नगरपालिकाले 'व्यास अल्ट्रा म्याराथन' प्रतियोगिता गर्ने भएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २८ गते सो खेल आयोजना गर्ने निर्णय गरेको हो । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले बर्सेनि अल्ट्रा म्याराथन आयोजना गर्दै आएको हाे ।
मानुङकोटदेखि सहिदग्राम सहिदपार्कसम्मको ४४ किलोमिटर दूरीमा सो प्रतियोगिता आयोजना गरिने भएको हो ।
मानुङकोटलाई पर्यटकीय गन्तव्य बनाउने र पुलिमर्याङको सहिदपार्क विकासमा सघाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
हरेक वर्ष सहिद दिवसमा यो प्रतियोगिता आयोजना गर्दै आए पनि यसअघि कोरोनाका कारण स्थगित गरिएको थियो । ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुनेछ ।
नगरप्रमुख न्यौपानेले मानुङकोट र पुलिमर्याङलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने गरी प्रतियोगिता आयोजना गरिएको बताए ।
राजमार्गको नजिक पर्ने भएकोले मानुङकोट आन्तरिक पर्यटकमाझ निकै नै चर्चित छ । 'पुलिमर्याङ त्यति परिचित नभए पनि महत्वपूर्ण गन्तव्य हो', उनले भने, 'अब मानुङकोटको जस्तै प्रचार पुलिमर्याङको पनि गर्न जरुरी छ ।'
त्यसै गरी महिला हाफ म्याराथन प्रतियोगिता दमौलीदेखि तनहुँसुरसम्म २०७८ फागुन २४ गते गरिनेछ ।