काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले भन्सार सहजीकरणका लागि अनुरोध गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमवार भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु तथा भन्सार सम्बन्धी नीतिगत सुझावहरु पेश गरेकोे छ ।
सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भ सूचि नै खारेज गरी भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्दतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।
त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गिकरणमा केही परिमार्जन गर्न आवश्यक रहेको बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढीलाई भईरहेकोले त्यसको समाधान गर्न आग्रह गरे ।
त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा समस्याहरु सृजना भएको भन्दै एउटै वस्तुमा भिन्न - भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेको बताए । उनले न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका ध्यानाकर्षण गराए
त्यस्तै महासचिव सुरेन्द्र उप्रेतिले २०७३ असार २६ गते भन्सार विभाग र नाडा बीच भएको सहमति बारे जानकारी दिंदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे ।
उनले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढदै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा एक प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गर्न अनुरोध गरे ।
छलफलको क्रममा भन्सार विभागका महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने भन्दै प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताए ।
छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सह- कोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।