काठमाडौं । अस्वस्थ प्रतिस्पर्धा रोक्न हेलिकप्टर कम्पनीहरूबीच भद्र सहमति भएको छ । पछिल्लो समय हेलिकप्टर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा गर्दै सस्तोमा उडान गर्दा अप्रेसन खर्च नै जुटाउन समस्या भइरहेको गुनासो बढिरहेको बेला यस्तो सहमति भएको हो ।
वायुसेवा सञ्चालक संघका उपाध्यक्ष एवम अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा नगर्ने सहमति भएको जानकारी दिए ।
कम्पनीहरुबीच भएको सहमतिअनुसार प्रतिघण्टा नेपालीलाई १४५० र विदेशीलाई १८०० देखि २००० डलरसम्म तोकिएको छ । तर, ठाउँ हेरेर केही फेरबदल हुन सक्ने उनको भनाइ छ ।
अस्वस्थ प्रतिस्पर्धा हुँदा दीर्घकालमा कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यका साथ व्यवसायीहरुबीच सहमति भएको शेर्पाले जानकारी दिए ।
कम्तीमा अहिलेको संकटमा चल्न/चलाउन मात्रै सके पछि अवस्था सहज हुँदा नाफातिर ध्यान दिन सकिने भएकाले कम्पनीहरू यसरी लागिपरेको बताइएको छ । गाह्रो समयमा ‘सस्टेन’ गर्न सके भोलि राम्रो समय आउँदा रिभाइभ हुने अपेक्षा व्यवसायीहरूले लिएका छन् ।
यद्यपि, कम्पनीहरुबीच मौखिक सहमति भए पनि लिखित हुन बाँकी छ । केही दिनअघि मात्र संघका पदाधिकारी तथा कम्पनीबीच सहमति भइसके पनि केही दिनभित्रै आधिकारिक जानकारी गराउने उपाध्यक्ष शेर्पाले जानकारी दिए ।
कोभिडका कारण विदेशी पर्यटकहरू नआएका र आन्तरिक पर्यटकहरू; त्यसमा पनि खोज तथा उद्धारमा बढी सक्रिय हुने हेलिकप्टर कम्पनीबीच नै अस्वस्थ प्रतिस्पर्धा हुन थालेको थियो । सीमित व्यक्तिहरूले मात्र हेलिकप्टर प्रयोग गर्ने गरेको र धेरै कम्पनीहरू भएका कारण घटाघटमा उडान हुने गरेको हेली एभरेस्टका प्रबन्ध निर्देशक फुर गेल्जे शेर्पाको भनाइ छ ।
कम्तीमा नाफा नभए पनि अप्रेसन खर्च उठाउने ध्येयका साथ कम्पनीहरुले सहमतिमै रेट निर्धारण गरेका हुन् । हेलिकप्टर कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई न्यूनतम र अधिकतम भाडा निर्धारणसमेत गरेका छन् ।
तर, पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेपछि निर्धारण गरिएको न्यूनतम भाडाभन्दा धेरै कममा उडान हुन थालेको थियो ।
कोभिड संक्रमण ह्वात्तै बढेको बेला एक वर्षअघि हेलिकप्टर कम्पनीहरुले मनलाग्दी शुल्क लिएको भन्दै प्राधिकरणले निश्चित भाडा निर्धारण गरेको थियो । तर, कम्पनीहरुले प्राधिकरणले तोकेको भन्दा पनि कम शुल्कमा उडान गर्न थालेका थिए । केही कम्पनीले ८०० देखि १००० डलरसम्ममा उडान गरेको भन्दै व्यवसायीहरुबीच विरोधसमेत भएको थियो । यसको गर्दा हेलिकप्टरको इन्जिन– आवरमा समेत समस्या उत्पन्न हुने व्यवसायीहरु नै बताउँछन् ।
एउटा हेलिकप्टरको इन्जिन मर्मत तथा फेर्न करिब ७ देखि ९ करोडसम्म लाग्ने व्यवसायीहरूको भनाइ छ ।
अहिले ११ वटा कम्पनीहरूका ३७ भन्दा बढी हेलिकप्टर उडान छन् ।