काठमाडौं । पासाङ ल्हामु राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । विगत ८ वर्षदेखि निर्माणाधीन राजमार्ग सम्पन्न नभएको भन्दै स्थानीयले विरोध गरेपछि उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको हो ।
काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईका अनुसार फागुन १ गतेदेखि उपत्यकाको फोहोर नुवाकोटको सिसडोल पुग्न सकेको छैन । जसका कारण काठमाडौंका चोक–चोकमा फोहोरको डंगुर थुप्रिएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित मुड्खु–तीनपिप्लेमा सडक पिच गर्नुपर्ने माग राख्दै स्थानीयले अवरोध गरिरहेका छन् ।
स्थानीयको अवरोधपछि उपत्यकाबाट नुवाकोटको सिसडोलमा फोहोर पुर्याउन सकिएको छैन । क्यापिटल नेपालसँग कुरा गर्दै विभागीय प्रमुख राई भन्छिन्, ‘सडक नबनेर स्थानीयले तीनपिप्लेमा अवरोध गर्दा फोहोरका गाडी सिसडोल जान सकेका छैनन् । हामीले सडक विभागलगायत सम्बन्धित आयोजनालाई सहजीकरण गर्न पत्राचार गरेका छौं ।’
वातावरण विभागले ठेकेदारलाई स्थानीयको मागका विषयमा समेत ध्यानाकर्षण गराएको छ । यद्यपि स्थानीयको अवरोध कहिले हट्छ र फोहोर व्यवस्थापन सहज ढंगले हुन्छ भन्ने कुरा निश्चित हुन सकेको छैन ।
साथै काठमाडौं महानगरले उपत्यकावासीलाई फोहोर व्यवस्थापनमा सहजीकरण गर्नका लागि आग्रह गरेको छ । महानगरले जथाभावी सडकमा फोहोर नफाल्न आग्रह गर्नाका साथै कुहिने फोहोरलाई घरमा नै व्यवस्थापन गर्न र नकुहिने फोहोरलाई फोहोर लिन आउने गाडीमा मात्रै फाल्न आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार टनभन्दा बढी फोहोर संकलन हुने वातावरण विभागले जनाएको छ । उपत्यकाको भक्तपुर नगरपालिका बाहेकका १७ स्थानीय तहको फोहोर व्यवस्थापनको जिम्मेवारी महानगरअन्तर्गतको वातावरण विभागको हो ।
काठमाडौंबाट सिसडोलसम्मको दूरी २६ किमि रहेको छ ।
नुवाकोटको रानीवनदेखि ककनीसम्म १७.१ किलोमिटर बाटोको ठेक्का लागेको २०७१ सालमा हो । सैलुङ कन्ट्रक्सन एन्ड एपीआईएल जेभीसँग करिब ३३ करोडमा सडक निर्माण गर्ने सम्झौता भएको थियो ।
तर, निर्माण सम्झौता भएको ८ वर्षमा ५४ प्रतिशत मात्रै भौतिक प्रगति भएको भक्तपुर–नगरकोट–सीताघाट–बालाजु–त्रिशूली छहरे सडक आयोजनाका प्रमुख गौतम श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार ठेकेदारको म्याद आगामी चैतसम्म छ । ठेक्का सम्झौता भएको लामो समयसम्म पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काम नगरेको आयोजनाको भनाइ छ । चैतसम्म निर्माण कार्य सम्पन्न नगरे आयोजनाले कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।
उता सडक सुधार विकास आयोजनाका कोअर्डिनेटर रोहितकुमार विसुराल भने काम छिटो गर्न कर्मचारीहरुले दबाद दिँदा सरुवा गराइ दिने प्रचलन रहेको बताउँछन् । ‘मैले उनीहरुलाई राम्रोसँग काम नगरे ठेक्का तोड्छु भनेको छु । तर, टारिरहेका छन् । यदि मैले ठेकेदारलाई छिटो काम गर्न दबाब दिएँ भनें सरुवा गराइदिन्छन् ।’