काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७०० भन्दा तल नझर्ने सम्भावना बलियो भएर गएको छ । केन्द्रीय बैंकले गत बिहीबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, एमसीसीको लफडा, राजनीतिक तरंग पार गर्दा पनि सूचक २७०० तल झरेर माथि उक्लिएकाले अब योभन्दा तल नजाने ठूला लगानीकर्ताको आकलन छ ।
बजारमा जति चलखेल हुनु भइसक्यो, अब लगानीकर्ताले सम्हालिएर लगानी गर्दा कुनै समस्या नहुने अनुभवीहरू बताउँछन् । बैंकले निक्षेपको ब्याजदर बढाइसकेको छ ।
ऋणको ब्याजदर तत्काल बढ्दैन । बैंकहरूले ३ महिनाका लागि आधारदर प्रकाशित पनि गरिसकेका छन् । अब नयाँ आधारदर चैतमा मात्रै प्रकाशित हुन्छ । त्यसपछि मात्रै नयाँ ब्याजदर तय हुने भएकाले बजारले एउटा संकट पार गरेको उनीहरूको भनाइ छ ।
सेयर किन्न चाहनेले अहिले पनि चाहे जति सेयर किन्न सकेका छैनन् । उनीहरूलाई बैंकले सेयर कर्जा नदिएकाले समस्या भएको हो । त्यो समस्या अहिले सिर्जित भएको होइन । महिनौदेखि बैंकहरू लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
ठूला लगानीकर्ताको बुझाइमा अब सेयर बजार २७०० तल जाँदैन । बढ्दा पनि सामान्य वृद्धि र घट्दा पनि सामान्य अंकको मात्रै गिरावट आउन सक्छ । त्यसकारण साना र मध्यम लगानीकर्ताले उचित कम्पनी छानेर मात्र सेयर किन्न जरुरी छ ।
आइतबार ३९ अंकले घटेको बजार सोमबार २५.४१ अंकले बढेर २७१८.५१ बिन्दुमा पुगेको छ । आइतबार प्रतिनिधिसभामा टेबुल गरेपछि सोमबार सेयर हरियाली भएको हो । यसदिन कारोबार रकममा भने गिरावट आएको छ ।
आइतबार ४ अर्बमाथि कारोबार भएकोमा सोमबार २ अर्ब ९९ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ ।