पाल्पा । गुन्द्रुक उत्पादनमा पाल्पाका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि स्थानीय महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन् ।
तानसेन नगरपालिका छापका झन्डै २५ घरपरिवार गुन्द्रुक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्द्रुक मासिक २/३ पटक बजार लगेर बिक्री गर्छिन् । उनले स्थानीय डुम्रे, जहरेपिपल, तानसेन र प्रभासलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट एकपटकमा ५/७ हजार आम्दानी गर्दै आएकि छिन् ।
प्रतिकिलो ४०० रुपैयाँमा गुन्द्रुक बिक्री हुन्छ । मिहिनेतअनुसार मूल्य पाएपछि महिलाहरू गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन् ।
गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । यसलाई नेपालको वा नेपालीको विषेश खानाका रूपमा लिइन्छ । नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढ्दो छ । यसको माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ ।
छापकै डिलबहादुर रानाले घरको छतमा गुन्द्रुक (सिन्की) सुकाइरहेका छन् । बारीमा उत्पादित मुलालाई उखेलेर राम्रोसँग धोइपखाली गरी २/३ दिन घाममा सुकाइन्छ । घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ । यसरी मसिनो बनाएको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ । मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरिकारीको परिकारका रूपमा खाने चलन रहेको उनले बताए ।
बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाँडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ । पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमा समेत यसको माग छ । सहरका ठूला होटलमा गुन्द्रुककाे झोल र अचारको खपत बढ्दो छ ।
नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आयात हुँदै आएको छ ।