काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अस्थायी रुपमा पुनर्निर्माणको काम करिब ३२ प्रतिशत सम्पन्न भएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) पदम कुँवरका अनुसार पुनर्निर्माण सुरु भएको ३ हप्तामा करिब ३२ प्रतिशत काम सम्पन्न भएको हो ।
‘अस्थायी रुपमा पुनर्निर्माण सुरु भएको २१÷२२ दिनमा ३० देखि ३२ प्रतिशत काम सकिएको छ’, क्यापिटल नेपालसँग कुरा गर्दै सिडीई कुँवरले भने, ‘विस्फोटक पदार्थसहित सेनाले ठूला ढुंगा फुटाउने काम गर्दै आएका छन् ।’
गत बुधबारदेखि आयोजना स्थलमा नेपाली सेनाको टोली परिचालन भएको छ । आयोजनाको अस्थायी पुनर्निर्माण गर्न सिनो हाइड्रो कर्पोरेसनले नसकेपछि सेनाको टोली परिचालन भएको हो ।
आयोजनाको माथिल्लो सतहमा गेग्रान देखिए पनि खन्दै जाँदा ठूला ढुंगा भेटिएपछि सिनोले एक्लै पुनर्निर्माण गर्न सकेको थिएन ।
आयोजना स्थलमा देखिएका ढुंगा फुटाउनका लागि ६ लाख रुपैयाँबराबरको विस्फोटक पदार्थ खरिद गरेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । आगामी चैतसम्म काठमाडौं उपत्यकामा पानी ल्याउन सकिने पन्तको भनाइ छ । ‘ढुंगा धेरै भेटिएन भने छिटै सफा गरेर सुरुङमा पानी हाल्न सकिन्छ’, उनले भने, ‘चैतसम्म काठमाडौंमा पानी ल्याउने गरी काम गरिरहेका छौं ।’
सिडीई कुँवर पनि चैतसम्ममा पुनर्निर्माण सम्पन्न हुने बताउँछन् ।
आयोजना स्थलमा सेनाले ग्रिल गरेर विस्फोेटक पदार्थ प्रयोग गरी ३० भन्दा बढी ठूला ढुंगा फुटाइसकेको छ । हालसम्म गेट नम्बर १ मा ५ वटा ढुंगा फुटाएको छ । अरु ढुंगा अम्बाथान क्षेत्रमा फुटाइएको कुँवरको भनाइ छ ।
नेपाली सेनाले आयोजना स्थलमा देखिएका ठूला ढुंगा फुटाएर मात्रै फर्किने सहमति गरेको छ ।
गत असार/साउनमा मेलम्ची खोलामा बाढी गएपछि नेपाली सेनालगायत सरोकारवाला निकायले आवश्यक सहयोग गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार अहिले नेपाली सेनाका जवान परिचालन भएका छन् । यसअघि हेडवक्स निर्माण गरेको सिनो हाइड्रो एक्लैले पुनर्निर्माण सुरु गरेको थियो । यद्यपि आयोजना स्थलमा ठुल्ठूला ढुंगा पन्साउन नसकेपछि सेनाको सहयोग मागिएको हो ।
डोजर लगाएर ठूला ढुंगा फुटाउन नसकिएपछि सेनाले विस्फोटक पदार्थ प्रयोग गरी फुटाइरहेको छ । ३ ठाउँबाट स्थायी रुपमा पुनर्निर्माण सुरु भएको आयोजनाको सुरुङको मुख भेटिएको छ ।
अहिले अम्बाथान, गेट नम्बर १ र ९ मा काम भइरहेको छ ।
सीडीई कुँवरका अनुसार करिब १० मिटर खन्दा ९ नम्बर गेटको एउटा सिलिन्डर भेटिएको छ । अब करिब ८÷९ मिटर खनेपछि बाँकी संरचनाहरु भटिने आकलन गरिएको छ ।
तर, अम्बाथानमा भने ३ मिटर खनेपछि ढुंगा भेटिएको थियो । अहिले त्यहाँ ढुंगा फुटाउने काम जारी छ । त्यस्तै गेट नम्बर १ मा सुरुङको मुखसमेत भेटिइसकेको छ ।
मेलम्चीको पानी काठमाडौंमा ल्याउन आयोजनाको १ र ९ नम्बर गेट तथा अम्बाथान अडिट सफा गर्ने कार्यविधि तयार भएको थियो । सोहीअनुसार माघको दोस्रो साताबाट मेलम्चीमा अस्थायी रूपमा पुनर्निर्माण सुरु भएको हो ।