स्याङ्जा । गल्याङ नगरपालिकाले १ हजार ७०० बंगुरका पाठापाठी वितरण गरेको छ ।
नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बंगुरका पाठापाठी वितरण गरिएको हो ।
किसानको मागका आधारमा पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए । 'किसानको माग, उत्साह साथै बंगुरपालनका दृष्टिले प्रचुर सम्भावना भएकाले व्यावसायिक उत्पादनतर्फ जोड दिनका लागि अनुदानस्वरूप पाठापाठी वितरण गरेका हौं', उनले भने, 'यस कार्यले बंगुरको मासु उत्पादन तथा पाठापाठीमा आत्मनिर्भर बनाउने हाम्रो अभियानलाई पूरा गर्नेछ ।'
यसवर्ष वितरण गरिएका बंगुरका पाठापाठीबाट आगामी वर्षमा १० हजार पाठापाठी तथा ३ करोड रुपैयाँ बढीको मासु उत्पादन हुने अपेक्षा नगरपालिकाको रहेको उनले बताए ।
'आगामी २ वर्षमा २ अर्बबराबरको बंगुरको मासु र पाठापाठी बिक्रीबाट आर्थिक लाभ लिने गरी अघि बढेका छौं', उनले भने, 'उत्पादित पाठापाठी तथा मासुको बजारीकरणको जिम्मा नगरपालिकाले लिन्छ । ढुक्कसँग बंगुरपालन व्यवसायमा लाग्नुहोस् ।'
किसानको मागका आधारमा नगरका एघार वटै वडामा बंगुरका पाठापाठी वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए । बंगुरपालनलाई व्यावसायीकरण गर्दै मासु र पाठापाठी उत्पादनमा गल्याङ नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि पाठापाठीसँगै आवश्यक तालिम तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको उनले जानकारी दिए ।
यस अभियानबाट नगरका करिब १ हजार किसान प्रत्यक्ष लाभान्वित हुने दाबी पशु शाखा प्रमुख सुशील अर्यालको छ । बंगुरका लागि निःशुल्क बिमा, खोप र जुकाको औषधिको पनि व्यवस्था नगरपालिकाले मिलाउने उनले बताए । प्रतिबंगुर ६ हजारका दरले खरिद गरिएको बताइएको छ ।
यसका लागि किसानले ५० प्रतिशत अनुदानस्वरूप ३ हजार रुपैयाँमा प्राप्त गरेका हुन् ।