काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै सेयर बजारमा ठूलाे पहिरो जाने आकलन गरिए पनि आइतबार भने केही सम्हालिएको अनुभूति गराएको छ । बिहीबार २७३२ मा रोकिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक शुक्रबारको मौद्रिक नीति समीक्षापछि एकै दिन १०० अंकभन्दा बढीले घट्ने पूर्वानुमान गरिएको थियो ।
तर, त्यसअनुरूप बजार घटेन । आइतबार कारोबार खुलेको ८ मिनेटमै २६६९ सम्म झरेर आक्रामक रूपमा प्रस्तुत भए पनि अन्ततः सम्हालिँदै आयो । सुरुमै ६३ अकको गिरावट देखिएको सूचक त्यसपछि भने बढ्ने/घट्ने गर्न थाल्यो । कारोबार खुलेको १ घण्टामा २७१५ सम्म पुगेको सूचक अन्ततः कारोबार रोकिँदा ३९.४ अंकले घटेर २६९३.१ बिन्दुमा रोकियो ।
खास गरी, जलविद्युत् र अन्य समूहमा भरथेग हुँदा सूचकमा ठूलो गिरावट आउनबाट रोकिएको हो । यद्यपि, जलविद्युत समूह पनि नकारात्मक नै छ । तर, अन्य समूह सूचक शून्य दशमलव ४२ प्रतिशतले सकारात्मक छ । आइतबार जीवन बिमा, उत्पादन तथा प्रशोधनमूलक, निर्जीवन र वित्त सूचकमा ठूलो गिरावट देखिएको छ ।
सबैभन्दा बढी गिरावट जीवन बिमा सूचकमा २.४४ प्रतिशत छ भने सबैभन्दा कम गिरावट जलविद्युत् समूह सूचक ०.९७ प्रतिशत छ । ऋणपत्र र म्युचुअल फन्डबाहेक १७ कम्पनीको मूल्यवृद्धि भएकोमा १२ कम्पनी जलविद्युत् समूहका छन् । घटेको बजारमा पनि युनाइटेड इदी मर्दी, आरबी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ८.६४ प्रतिशतले बढेको छ । उता, १७१ कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.७४ प्रतिशतले घटेको छ भने उच्च १० मूल्य घट्ने कम्पनीमा ५ वटा बिमा कम्पनीहरू छन् ।
७३ प्रतिशत लाभांश घोषणा गरेको र सेयर बजारमा लघुवित्त समूहमा सबैभन्दा बढी मूल्य कायम राखिरहेको जीवन विकास लघुवित्तको सेयर आइतबार सबैभन्दा बढी किनबेच भएको छ । लाभांश घोषणापछि आइतबार ३.४९ प्रतिशतले मूल्य बढेको जीवन विकासको ५८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अपेक्षाकृत नघटेको सेयर बजारमा आइतबार ४ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ । जुन गत साताको औसत कारोबारभन्दा धेरै हो गत साता आइतबार ५ अर्ब ९४ करोडको किनबेच भएकोमा त्यसपछि खुम्चिँदै गएर बिहीबार २ अर्ब २६ करोडमा सीमित भएको थियो । कारोबार रकमले गत साताको भन्दा उत्साह जगाउने कोसिस गरेको छ ।
कारोबार रकम, नेप्से प्रवृत्ति र लगानीकर्ताको मनोभाव विश्लेषण गर्दा सोमबार बजारमा केही सकारात्मक प्रभाव देखिन सक्छ । अझ प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएसँगै राजनीति माहाैल सकारात्मक बन्ने र जलविद्युत् क्षेत्रमा कम्पनीहरूलाई राहत मिल्ने सम्भावनालाई सकारात्मक रूपमा लिन सकिन्छ । जसको प्रभाव सेयर सूचकमा पनि देखिनुपर्छ ।
तर, मौद्रिक नीतिको समीक्षापछि बढ्दो ब्याजदर, अधिविकर्ष र मार्जिन कर्जामा हुन सक्ने नयाँ जोखिम व्यवस्थाले पार्ने प्रभावका आधारमा सेयर बजार अघि बढ्ने उत्तिकै सम्भावना छ ।