काठमाडौं । जापानले एक हजार नर्सिङ केयर गिभर लैजाने निश्चित भएको छ । जापानले यसअघि नै नेपालसहित ९ देशबाट केयर गिभरको लागि कामदार लैजाने घोषणा गरेको थियो ।
केयर गिभरमा जान कुनै शैक्षिक योग्यता नचाहिने तर ‘नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्ट’ र ‘नर्सिङ केयर जापानिज ल्याङ्गग्वयज इभ्यालुयसन टेष्ट’ पास भए मात्र पुग्ने छ । तर नेपालबाट कति कामदार लैजाने भन्ने यकिन गरेको छैन् । जापानिज भाषा र सीप मूल्याङ्कन परीक्षा अक्टोबर २७ देखि २९ नोभेम्बर र नोभेम्बर १२ देखि १४ सम्म निर्धारण गरिसकेको छ ।
जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले निकालेको सूचनाअनुसार पहिलो चरणमा १ हजार नर्सिङ केयर गिभर लैजाने जानकारी दिएको हो । तर नेपालबाट कति सङ्ख्यामा लैजाने भन्ने यकिन गरेको छैन ।
यस विषयमा श्रम मन्त्रालयका अधिकारीहरुले पनि स्पष्ट पार्न सकेका छैनन् । एक अधिकारीका अनुसार कति सङ्ख्या लैजाने भन्ने विषयमा छलफल भए पनि टुङ्गोमा पुगिनसकेका छैनन् । दुई देशबीचको सम्झौतामा कामदार लैजाने भन्ने रहेपनि पहिलो चरणमा कति लैजाने भन्ने टुङ्गो नलाग्दा अन्योल बढेको मन्त्रालय स्रोतको भनाइ छ ।
जापानले नर्सिङ केयर गिभरमा जानेलाई अनलाइनमार्फत फाराम भर्न अनुरोध गरेको छ । फाराम भर्नुअघि काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालमा रहेको कार्यालयबाट टोकन लिएर परीक्षामा सामेल हुुनपर्नेछ । परीक्षा पास भएपछि मात्र जापान जान पाउने छन् । कति जनालाई लैजाने भन्ने टुङ्गो नलागेकै कारण कतिले टोकन लिने भन्नेमा अन्योल छ ।
जापान सरकारको अनुसार सीप परीक्षा ६० मिनेटको हुन्छ र ४५ ओटा प्रश्न सोधिने छ । कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने जाँचमा सोधिने ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्नको व्यवहारिक परीक्षा हुनेछ ।
उक्त परीक्षा दिनका लागि एक हजार जापानी येन लाग्ने छ । यस्तै, ३० मिनेटको हुने जापानी भाषा परीक्षामा १५ वटा प्रश्न सोधिने छ ।
जापानमा वर्षैपिच्छे कामदारको अभाव हुन थालेपछि विदेशी कामदार भित्राउने नीति अवलम्बन गरिएको हो । जापानले विभिन्न क्षेत्रमा विदेशी कामदार लिने भए पनि नेपालबाट पहिलो चरणमा केयर गिभरमा मात्र लिने बताएको छ ।
नेपाल र जापानबीच गत चैतमा कामदार लैजाने सम्बन्धी समझदारी (एमओसी) भएको थियो । त्यतिबेला उक्त सम्झौताअनुसार नेपालबाट कामदार जापान पठाउने प्रक्रिया अप्रिल महिनाबाटै शुरू हुने बताइए पनि त्यसमा अलमल भएको थियो ।
जापानले १४ वटा विभिन्न क्षेत्रमा विदेशी कमदार भित्रयाउने प्रक्रिया अगाडि बढाएको हो । नर्सिङ, सरसफाइ, उत्पादनमूलक क्षेत्र, होटल, कृषि, माछा मार्ने तथा खाद्य प्रशोधन आदि क्षेत्रमा नेपाली लगायत अन्य आठवटा मुलुकबाट जापानले कामदार लिन खोजेको बताइएको छ।