काठमाडौं । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ ।
राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ ।
उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार गत आव २०७७/७८ मा मात्रै ६ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो । चालू आवको पहिलो ६ महिनामा नै नाफा बढेर दोब्बर भएको हो ।
यो सँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी जस्ता कारणले संस्थाको आर्थिक स्वास्थ्यमा गुणात्मक फड्को मारेको प्रतिक्रिया दिए । उनले विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण पनि चालू आवको ६ महिनामा संस्थाले उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए ।
कार्यकारी निर्देशक घिसिङले भने, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम नै हाम्रा लागि वरदान सावित भएको छ ।’
यस्तै, ४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको अर्को महत्वपूर्ण कारण हो । यस्तै, हिमाल पावरले सञ्चालन गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत हिस्सासमेत प्राधिकरणको नाममा आएको छ । सो आयोजनाको बिजुलीको खरिद मूल्य पनि असाध्यै सस्तो छ । ‘गत पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ । यसबाट चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ । तर, चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौं’ उनले भने ।
प्राधिकरणले आव २०७३/७४ मा १ अर्ब ५० करोड, आव २०७४/७५ मा २ अर्ब ८४ करोड, आव २०७५/७६ मा ९ अर्ब ८१ करोड, आव २०७६/७७ मा १३ अर्ब २७ करोड, २०७७/७८ मा ६ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो ।
प्राधिकरणले चालू आवको ६ महिनामा ४७ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण १ खर्ब १४ अर्ब पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ । प्राधिकरणको पुँजीकृत सम्पत्ति १ खर्ब ६५ अर्ब छ । यस्तै पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्ब ५२ अर्ब, सहायक कम्पनीमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
यस्तै तरल पूँजी ८५ अर्ब १ करोड रुपैयाँबराबर छ ।