सिंगापुरका लगानीकर्तालाई विगत ३ वर्षमा अन्य धोकाधडीको तुलनामा किर्ते लगानी योजनाबाट सबैभन्दा बढी नोक्सानी भएको पाइएको छ । विशेष गरी चिनियाँ मूलका ‘पिग बुचरिङ’ क्रिप्टोकरेन्सी घोटालाको ठूलो सिकार बनेका छन् ।
लगानीकर्ताले गत वर्ष यस्तै खालको योजनाबाट झन्डै २० करोड सिंगापुर डलर घाटा बेहोरेका छन् । यो तथ्यांक सन् २०१९ को तुलनामा पाँच गुणा अधिक हो ।
‘द सन्डे टाइम्स’ को एउटा रिपोर्टअनुसार यस्तो घटना घटाउनु र लगानी गर्न भन्नुअघि उनीहरुले लगानीकर्तासँग महिनौं लगाएर राम्रो सम्बन्ध बनाउँछन् ।
रिपाेर्टअनुसार सिंगापुरमा हाल ‘पिग बुचरिङ’ घटना सतहमा आएको छ । यसमा चिनियाँ शब्द ‘सा–झु–पान’ को प्रयोग गरिएको छ । जसको अर्थ हुन्छ, वध गर्नुअघि मोटो बनाइएको सुँगुर भन्ने हुन्छ । यसलाई अपराधीहरुले आफ्नो घोटालाको वर्णन गर्नका लागि प्रयोग गरेका थिए ।
किर्ते लगानी योजनमा लगानी गर्न आग्रह गर्नुपूर्व उनीहरुले आफ्नो पहिलो लक्ष्य अर्थात् लगानीकर्तालाई नजिक तान्न निकै समय खर्चिने गर्छन् ।
यस्तै सिंगापुर दैनिकले समाचार रिपोर्टलाई उद्धृत गर्दै सन् २०१६ मा चीनमा यस्तो खालको घोटाला सुरु भएको बताएको थियो । त्यति बेला घोटालाकर्ताहरुले पीडितलाई नक्कली जुवा खेलाउने वेबसाइटमा दाउ लगाउन तयार पारेका थिए ।
चीन सरकारले २०१८ मा अवैध सट्टाबाजीमाथि लगाम कस्यो । तर, अपराधीहरुले दक्षिण–पूर्वी एसियामा चिनियाँ भाषा बोल्ने प्रवासीहरुलाई निसाना बनाए ।
जसोजसो युरोप/अमेरिकामा जनसंख्या विस्तार भयो, क्रिप्टोकरेन्सी लगानी लोकप्रिय हुँदै घोटालाको रणनीति विकसित भयो ।